मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुल भत्काएर एकतामा अघि बढ्यौँ : प्रचण्ड

पुल भत्काएर एकतामा अघि बढ्यौँ : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि पछि फर्केर हेर्न नपर्ने गरी पुल नै भत्काएर हामफालेको दाबी गरेका छन् । उनले भने “एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकता प्रक्रियामा हामफालेका छौँ ।”
 
एमाले र माओवादी केन्द्र सम्बद्ध बुद्धिजीवी संगठनले आइतबार भरतपुरस्थित सप्तगण्डकी क्याम्पसमा आयोजित स्वागत कार्यक्रममा प्रचण्डले भने, “पुल भत्काइएन भने पछि फर्कन पनि सकिन्छ, त्यसैले पुल नै भत्काएर हामी अघि बढेका हौँ ।”
 
उनले पार्टी एकताका सन्दर्भमा थुप्रै जटिलता रहेको स्वीकार गर्दै थपे, “हो, एकतामा केही जटिलता अवश्य हुन्छन्, त्यसबारे हामीले सोचिसकेका छौँ ।” पार्टी एकतामा जटिलता भए पनि अब पछि हट्ने विकल्प नभएको उनको भनाइ थियो ।
 
प्रचण्डले एकताका विषयमा एमाले अध्यक्ष ओलीसँग शनिबार बेलुकी र आइतबार बिहान पनि कुराकानी भएको स्पष्ट पारे ।
 
पार्टी एकता र गठबन्धन कसरी अघि बढ्छ भन्ने सम्बन्धमा भ्रामक समाचार आएको बताउँदै उनले भ्रामक समाचारको आधिकारिकता पुष्टि नभई प्रचार नगरिदिन सञ्चारकर्मीसँग अनुरोध गरे । आफ्नो बहुमत आउन लागेपछि एमालेका केही नेता माओवादी केन्द्रलाई छाडेर फोरमसँग एकता गर्ने प्रयासमा लागेको भन्ने सञ्चारमाध्यममा आएको समाचारको उनले खण्डन गरेका हुन् ।
 
एमाले–माओवादी केन्द्रबीच एकतामा दरार खडा गर्न केही मानिस अन्तिम कसरतमा लागेको दाबी गर्दै प्रचण्डले भने, “मैले यसलाई पनि स्वभाविक रुपमा लिएको छु । एकता भत्काउने पक्षको फुटाउने कसरत हाँस्यास्पद हुनेछ । आत्तिनुपर्ने स्थिति छैन ।”
 
उनले एमाले अध्यक्ष ओलीसँग सरकार गठनका विषयमा समेत फोन संवाद भएको भन्दै कांग्रेसलाई परेको मर्काका सम्बन्धमा पनि कुराकानी भएको जानकारी दिए ।
 
उनले राष्ट्रिय सभामा नेपाली कांग्रेसको समेत प्रतिनिधित्व हुने गरी अध्यादेशसम्बन्धी विवादको समाधान हुने बताए । उनले भने, “बहुमतीय प्रणालीमा जाँदा उहाँहरुको एउटा पनि सिट नआउने रहेछ, यस्तो हुनु राम्रो होइन भन्ने हामीलाई पनि लागेको छ, त्यसैले उहाँहरुको पनि त्यहाँ प्रतिनिधित्व गर्ने विषयमा हामीले कुराकानी गरेका छौँ ।”