मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गहभरि आँशु बनाउँदै चितवनबाट बिदाई भए म्यादी प्रहरी

गहभरि आँशु बनाउँदै चितवनबाट बिदाई भए म्यादी प्रहरी


चितवन । करिब दुई महिना प्रहरीकै अनुशासन र जिम्मेवारी निभाउँदै चितवनबाट म्यादी प्रहरी बिदाई भएका छन् ।

मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चितवनमा ५ सय महिलासहित १ हजार ७१० जना म्यादी प्रहरी निर्वाचनको मतदान सुरक्षामा खटिएका थिए । आफ्नो महत्वपूर्ण जिम्मेवारी पूरा गरी बिदाई हुँदा उनीहरु गहभरि आँशु बनाउँदै बिदा भएका हुन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले म्यादी प्रहरीको काम निकै प्रशंसनीय रहेको जनाए ।
 
“प्रहरीको जत्तिकै काम कर्तव्यबोध गरी सबैले आआफ्नो जिम्मेवारी पूरा गरे । म्यादीलाई बिदाई गर्नुपर्दा म स्वयं पनि भावनात्मक रुपमा दुःखी भएँ”, उनले भने । 
 
चितवनमा मंसिर २१ गते सम्पन्न चुनावमा ५ सय महिलासहित १ हजार ७१० म्यादी प्रहरी खटिएका थिए । म्यादी प्रहरीको प्रभावकारी भूमिकाका कारण निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सहयोग पुगेको एसपी थापाले बताए । 

चितवनको इच्छाकामना गाउँपालिका १ काउलेकी सम्झना सापकोटाले पहिलोपटक अस्थायी रुपमै भए पनि सरकारी जागिर खाएको अनुभव संगालेर बिदाई हुँदा साह्रै भावुक बनेको प्रतिक्रिया दिइन् । उनीजस्तै साथीसँगै दुई महिना बिताएका साथीहरु छुट्टिने बेला गहभरि आँशु बनाएर बिदाई भएका थिए ।

लमजुङ बेशिसहरकी शोभाले भनिन्, “चुनावमा सुरक्षाकर्मीको रुपमा आफूलाई प्रस्तुत गर्दा निकै जिम्मेवारी बोध र गर्वको अनुभूति भयो । यहाँको अनुभवबाट अन्य ठाउँमा पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास थपिएको छ ।”

म्यादी प्रहरीको जागिरबाट बिदाई भएपछि कमाइ भएको रकम केहीले परिवारको पालन, शिक्षा तथा व्यापारमा लगाउने बताएका छन् ।
 
चितवनको पहाडी इच्छाकामना गाउँपालिकाका सुकबहादुर प्रजाले दुई महिनाको कमाइको सदुपयोग गरी गाउँमा कुखुरा पालन गर्ने योजना बनाएको बताए ।