सौराहा । नगरलाई प्लाष्टिक र प्रदूषणमुक्त क्षेत्र बनाउने उद्देश्यले झुवानी वातावरणीय संरक्षण कार्यक्रम, रत्ननगर ५ को आयोजनामा शनिबार झुवानी पुस्तकालय चौरमा वडावासीलाई झोला वितरण गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बछौलीका पूर्व गाविस अध्यक्ष एवम् समाजसेवी फूलचनकुमार महतोले वडावासीको सामूहिक पर्यत्नबाट नगरलाई सफा, स्वच्छ र हराभरा बनाउन सकिने बताए ।
प्रमुख अतिथिसमेत रहेका समाजसेवी महतोले सबैको साझा प्रतिबद्धताबाट फोहोरमैला व्यवस्थापनमा सुधार भएको भन्दै प्लाष्टिकमुक्त अभियान पनि उपलब्धिमूलक हुने आशा गरे । उनले नमुना समाज स्थापित गर्न झुवानी वातावरणीय संरक्षण कार्यक्रमले गर्दै आएको सामाजिक गतिविधिको प्रशंसा गरे ।
कार्यक्रममा रत्ननगर ५ बछौलीका २०० जना वडावासीलाई झोला वितरण गरिएको थियो । किनमेलका लागि सजिलो हुने र प्लाष्टिकको प्रयोग घटाउन जर्मनी नागरिक योहानेस टिड्जेले कपडाको झोला खरिदका लागि सहयोग गरेका थिए ।
झुवानी वातावरणीय संरक्षण कार्यक्रमका संयोजक रामचन्द्र महतोले संस्थाले यसअघि झुवानीका चोकचोकमा ३० थान डस्टबीन वितरण गरिएको जानकारी दिए । वातावरण संरक्षणका लागि स्ट्यान्ड तथा थुप्रै सेमीनारको आयोजना गरी वडावासीलाई सचेतना जगाउँदै आएको उनले बताए । प्लाष्टिक र प्रदूषणमुक्त क्षेत्र बनाएर पर्यटकीय आकर्षण बढाउन मद्दत पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा नगरप्रतिनिधि सहुवा महतो, रेवानका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र खतिवडा, जर्मनी नागरिक इजा बेल, पूर्व गाविस उपाध्यक्ष हरिप्रसाद रिजाललगायतले यस्ता कार्यक्रमले वातावरणीय संरक्षणमा सुधार आउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया