मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति : प्रचण्ड

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति : प्रचण्ड


चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको बताएका छन् । 
 
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिले सरकार गठनको विषयमा अन्तिम टुंगो लगाउने भए पनि एमाले अध्यक्ष ओलीसँग सरकारको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको बताए । 
 
आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने जिज्ञासामा प्रचण्डले भने, “सरकारको नेतृत्व को अघि, को पछि गर्ने र कति समय भन्नेबारे आवश्यक छलफलपछि टुंगो लाग्छ ।” 
 
विजय जुलुसमा सहभागी भएपश्चात् राजधानीबाट शुक्रबार चितवन फर्कनेक्रममा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले शनिबार एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउने बताए । 
 
उनले संयोजन समिति गठनका बेला चुनावपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा आलोपालो प्रणाली अपनाउने भद्र सहमति भएको स्मरण गराएका छन् । 
 
शनिबार नै काठमाडौँ फर्किएर सरकार निर्माणको विषयमा वाम गठबन्धनभित्र लचिलो भएर अन्तिम निर्णयसमेत गरिने उनले बताए । 
 
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई फोन गरेर बधाई दिएको स्मरण गरे । “फोन सम्पर्कमा बधाई दिनुबाहेक मोदीले अन्य विषयमा कुरा नगरेको प्रस्ट पार्छ”, अध्यक्ष दाहालले भने, “ममात्रै होइन प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि बधाईमात्र दिएको बुझेको छु ।”
 
राष्ट्रिय सभाका विषयमा सहमति प्रयास
प्रचण्डले राष्ट्रिय सभा समावेशी चरित्रको हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, “राष्ट्रिय सभा समानुपातिक र समावेशी चरित्रको हुनुपर्छ । यसको विषयमा सहमतिको प्रयास भइरहेको छ ।” 
 
राष्ट्रिय सभा र प्रतिनिधिसभा मिलाएर संघीय संसद् बन्ने बताउँदै प्रचण्डले संघीय संसद्मा एकतिहाई महिला सदस्य चाहिने संवैधानिक प्रावधान रहेको प्रष्ट पारे । 
 
राष्ट्रिय सभा गठन गर्ने विधि बहुमतीय प्रणालीभन्दा एकल संक्रमणीय प्रणाली बढी समावेशी हुने उनको भनाइ छ । उनले भने “संविधानमा प्रष्ट शब्दमा कुनै एक प्रणाली उल्लेख नहुँदा अहिले राष्ट्रिय सभा गठनमा जटिलता आएको हो ।”