मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समानुपातिकको मतगणना सकियो कुन दलले कति मत पाए ?

समानुपातिकको मतगणना सकियो कुन दलले कति मत पाए ?


काठमाडौं। समानुपातिक निर्वाचन प्रणालीको अन्तिम मत नतिजाले पहिलो दलमा नेकपा एमालेलाई स्थापित गरिदिएको छ। एमालेले ३१ लाख ७३ हजार ४९४ मत ल्याउँदै ठूलो दलको स्थान कब्जा गरेको छ।
 
प्रत्यक्षतर्फ पहिलो दल बनेको एमाले समानुपातिकतर्फ पनि कांग्रेसभन्दा ४५ हजार १०५ मत बढी ल्याएर पहिलो दलमै टिकेर रह्यो। यसरी यो चुनावबाट देशको पहिलो शक्ति भएर एमाले अगाडि आएको छ।
 
प्रत्यक्षतर्फ तेस्रो दल बनेको नेपाली कांग्रेसले समानुपातिकतर्फ भने ३१ लाख २८ हजार ३८९ मतसहित दोस्रो स्थान लिएको छ। यसैगरी प्रत्यक्षमा एमाले पछि दोस्रो बनेको माओवादीका लागि समानुपातिकमा भने तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो। समानुपातिक मतले कांग्रेस र माओवादीको हैसियतमा फेरबदल पारिदियो।
 
माओवादी केन्द्र १३ लाख ३ हजार ७२१ मत पाएर तेस्रो दल बनेको छ। समग्रमा पनि माओवादी देशको तेस्रो दल भएर रह्यो।
 
समानुपातिकतर्फ चौथो दलको रुपमा राजपा आएको छ। यसले ४ लाख ७२ हजार २५४ मत पाएको छ भने पाँचौ स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ मत पाएको छ।
 
प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ मत पाएको छ। यसैगरी राप्रपाले १ लाख ९६ हजार ७८२, राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएको छ।
 
निर्वाचन आयोगका अनुसार खसेकोमध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको थियो। समानुपातिक निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै यो पटक थ्रेसहोल्ड कटाएर पाँचवटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। प्रमुख दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन्।
 
अब राष्ट्रिय दलको हैसियतमा क्रमशः एमाले, कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम र राजपा रहनेछन्। पाँच दलभन्दा बाहेकका चुनावमा सहभागी दल अब राष्ट्रिय दलमा गणना हुने छैनन्।