मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसको कमजोर नतिजा आउनु दुःखद : नेता सिंह

काँग्रेसको कमजोर नतिजा आउनु दुःखद : नेता सिंह


काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली काँग्रेसको पक्षमा कमजोर नतिजा आउनु दुःखद भएको बताएका छन् । 
 
नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले आज आनन्द इभेन्टमा आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा बोल्दै नेता सिंहले इतिहास र जनताको विश्वास बोकेको पार्टीको पक्षमा सोचेजस्तो नतिजा नआउनु दुःखद कुरा भएको बताए । 
 
“देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ, अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा एक नम्बरको पार्टी बनाउनुपर्छ”, उनले भने । 
 
नेता सिंहले पार्टीभित्रकै व्यक्तिका कारण पार्टीले पराजय भोगेको भन्दै भने, “पार्टीको झोला बोक्ने तर पार्टीलाई दुःख परेको बेलामा असहयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।” काठमाडौँमा काँग्रेसको पक्षमा चित्तबुझ्दो नतिजा नआएको उनको भनाइ थियो । 
 
भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट सांसद बनेका नेता सिंहले मुलुक निर्माण गर्नका लागि राजनीतिमा लागेको व्यक्ति आफू भएको भन्दै काठमाडौँ क्षेत्र नं १ को विकासका लागि आफू सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले तीनपटक प्रतिनिधिसभामा जाने अवसर दिएको भन्दै मतदातालाई धन्यवादसमेत दिए । 
 
पूर्व उपप्रधानमन्त्री सिंहले संसद्मा आफ्नो राम्रो सिट नआएको भन्दै सरकार र संसद्ले गरेका राम्रो कामलाई समर्थन गर्दै नराम्रो कामको खबरदारी गरी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताए । “विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ”, सिंहले भने । रासस

शेयर गर्नुहोस:

0
Shares