काठमाडौँ । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका १६५ वटै क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।
आएको निर्वाचन आयोगका अनुसार सुनसरी क्षेत्र नम्बर ३ को बुधबार बिहान मतपरिणाम आएसँगै प्रत्यक्षतर्फका मतगणना सम्पन्न भएको हो ।
सुुनसरी ३ मा नेपाली कांग्रेसका उम्मेदवार एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार झिनो मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ३८ हजार ९७२ मत ल्याउने क्रममा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीलाई ३२१ मतले पराजित गरेका थिए ।
अन्तिम मत परिणामअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६ र नेपाली कांग्रेसले २३ सिटमा विजयी बनेका छन् ।
यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ११ र संघीय समाजवादी फोरमले १०, नयाँ शक्ति पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक सिट जितेका छन् ।
हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा निर्वाचित भएका छन् । उनी माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेपछि पार्टीले कारबाही गरेको थियो ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना पनि आधाभन्दा बढी सकिएको जनाइएको छ । समानुपातिकतर्फ प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेले १९ लाख ८१ हजार, कांग्रेसले १८ लाख ९५ हजार र माओवादी केन्द्रले ७ लाख ६४ हजार मत प्राप्त गरेका छन् ।
त्यस्तै संघीय समाजवादी फोरमले २ लाख ५१ हजार, राजपा नेपालले १ लाख ८३ हजार र राप्रपाले १ लाख ३२ हजार, विवेकशील साझा पार्टीले १ लाख २२ हजार, नयाँ शक्ति पार्टीले ५६ हजार, राप्रपा प्रजातान्त्रिकले ४४ हजार, राष्ट्रिय जनमोर्चाले ३५ हजार मत ल्याएका छन् ।
नयाँ संवैधानिक व्यवस्थाअनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, फोरम नेपाल र राजपामात्रै राष्ट्रिय पार्टी बन्न सक्ने अवस्था देखिएको छ । राष्ट्रिय पार्टी बन्नका कम्तीमा एक जना प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुपर्ने र समानुपातिकतर्फ कुल सदर मतको तीन प्रतिशत ल्याउनु पर्ने हुन्छ ।
अहिलेसम्मको मतपरिणामलाई हेर्दा पाँच पार्टी राष्ट्रिय पार्टी हुने छन् भने राप्रपा प्रजातान्त्रिक, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल जसले प्रत्यक्षतर्फ एक/एक सिट ल्याएका छन् । संसदमा उनीहरुको हैसियत स्वतन्त्रको रहने छ ।
त्यसैगरी हुम्लाबाट स्वतन्त्र रुपमा निर्वाचित छक्कबहादुर लामा नेकपा माओवादीमा प्रवेश गरेनन् भने उनी स्वतन्त्रकै हैसियतमा रहने छन् ।
प्रतिक्रिया