दमौली– नेपाली काँग्रेसका युवा नेता एवं तनहुँ क्षेत्र नं २ का प्रदेशसभा १ का उम्मेद्ववार प्रदीप पौडेलले पुनः मतदानको माग गरेका छन् ।
माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत हालिएको भन्दै पौडेलले पुनः मतदानको माग गरेका हुन् । मुचुल्का गरिएको भन्दा बढी मत देखिएकोे उनले बताए ।
सोही मतगणनाबमोजिम बिना विभागीय मन्त्री एवं माओवादी प्रदेशसभाकी उम्मेदवार आशा कोइराला पाँच मतले विजयी भएपछि पौडेलले उक्त परिणाम आफूले स्वीकार नगर्ने जानकारी दिए ।
“फर्जी मत हालिएकाले सो परिणाम मैले स्वीकार गर्ने कुरै हुदैन पौडेलले भने” निर्वाचन अधिकृत समक्ष ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग राख्दै निवेदन दिएको उनले बताए ।
कोइरालाले १६ हजार ६४६ मत पाएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले पाँच मत कम १६ हजार ६४१ मत पाएका थिए । पौडेलका सर्मथकले पुनःमतदानको माग गर्दै दमौली बजारमा नारावाजी गरेका थिए ।
प्रतिक्रिया