मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देश विकासको बाटोमा हिडेको पुष्पकमल दाहाल प्रचण्डको भनाई (भिडियो सहित)

देश विकासको बाटोमा हिडेको पुष्पकमल दाहाल प्रचण्डको भनाई (भिडियो सहित)


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बिहान ७ बजेर १३ मिनेट जाँदा मतदान गर्नुभएको छ  । ठिक ७ बजे मतदानस्थलमा आउनुभएका दाहाल तयारी पूरा नभएकाले केही बेर मतदानको प्रतीक्षामा बस्नु परेको थियो । यसअघि भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि केन्द्रबाट मतदान गर्नुभएका दाहालले पहिलोपटक आफू हुर्के बढेको ठाउँ जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट बाट मतदान गर्नुभएको हो ।
 
मतदान पछि बोल्दै दहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्काे अध्यायको सुरुवात भएको बताउनुभएको छ ।  बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले निकै ठुलो सङ्घर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताउनुभयो । अब राजनीतिक यात्राको होइन, विकासको यात्रा सुरु भएको भन्दै उहाँले यो निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने बताउनुभयो ।
 
राजनीतिक स्थायित्वको पहिलो आधार यो निर्वाचन भएको भन्दै उहाँले नेपालको इतिहासमा धेरै सङ्घर्ष र परिवर्तन हुँदा पनि कहिल्यै पनि सरकार पाँच वर्ष टिक्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “दिगो सरकार नहुँदा विकास निर्माणले गति लिन पाएन ।”
 
गठबन्धनद्वारा बहुमतको सरकार बन्ने र सबै विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले भन्नुभयो “अब जसले भए पनि गठबन्धनले बहुमत ल्याउनुपर्छ, यस पटक वामपन्थीकै बहुमत आउँछ, त्यसमा शङ्का गर्नुपर्ने छैन ।” यो परिवर्तनका निम्ति सबैभन्दा ठुलो विद्रोहको नेतृत्व आफूले गरेको भन्दै शान्ति सम्झौताको नेतृत्व पनि गिरिजाप्रसाद कोइराला र आफूले गरेको बताउनुभयो ।
 
सशस्त्र द्वन्द्वपछि आफैँ हुर्केको गाउँबाट मतदान गर्न पाएकोमा निकै खुसी भएको भन्दै उहाँले भन्नुभयो, “एउटा नेतृत्वदायी भूमिका खेलेर आफैँले आफ्नो जिल्लामा मतदान गर्दा यहाँबाट स्थायित्व र समृद्धिको थालनी गर्न पाउँदा खुसी छु ।” धेरै ठुलो राजनीतिक परिवर्तनपछिको महत्त्वपूर्ण क्षणमा रहेको भन्दै उहाँले यो निर्वाचन विगतको निर्वाचनको पुनरावृत्ति नभएको बताउनुभयो । उहाँले भन्नुभयो “यो इतिहासमा पहिलोपटक हुन लागेको निर्वाचन हो, प्रत्येक मतदाताले एउटा उत्सवका रूपमा लिनुपर्छ । सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्षण हो ।”
 
यो निर्वाचनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन भएको भन्दै सङ्घीयता कार्यान्वयनमा गइसकेको बताउनुभयो । नेपालमा अहिले बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन राष्ट्रका लागि शुभसंकेत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कोही चिन्तित हुनुपर्ने आवश्यकता छैन, दुईवटा गठबन्धन हुँदा जसले राम्रो काम गर्छ, उसले पाँच वर्ष सरकार चलाउँछ ।”
 
माओवादी केन्द्र र एमालेबीचमा निर्वाचनपछि पार्टी एकता हुने भन्दै उहाँले यसबाट कोही चिन्तित हुनु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यो कसैका विरुद्धमा लक्षित छैन, राष्ट्र र जनताको पक्षमा छ, हामी चाहन्छौँ, काँग्रेसमा पनि पार्टी एकताको नयाँ प्रक्रिया अगाडि बढोस् ।” उहाँले मतदान गरेको चितवन क्षेत्र नं ३ मा दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुनुहुन्छ ।