मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र : प्रधानमन्त्री देउवा

वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र : प्रधानमन्त्री देउवा


नवलपरासी– प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनले नेता देखेर जनता डराउने व्यवस्था ल्याउन लागेको आरोप लगाएका छन् ।  
 
‘जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ’ बुलिङटारमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानन्त्री देउवाले भने ‘कम्युनिष्टसंग जनता हिजो पनि डराउँथे, भोलि पनि डराउने दिन ल्याउन लागेका छन् ।’
 
वाम गठबन्धनले विजय प्राप्त गरे जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने बताउँदै उनले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको जिकिरसमेत गरे ।
 
‘यो चुनाव कम्युनिष्ट दामनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमतसंग्रह हो’, वाम गठबन्धनको आलोचना गर्ने क्रममा उनले अगाडि थपे ‘यो संविधानले आदिवासी, जनजाति, मधेसी सबैलाई ठाउँ दिएको छ तर कम्युनिष्टहरुले संविधान खारेज गरेर तानाशाही लाद्न खोजेका छन् ।’
 
नेपाली काँग्रेसले स्थापनाकालदेखि नै जनतालाई मालिक बनाउने लक्ष्य लिएको र २००७ सालदेखि परिवर्तनको नेतृत्व गरेको काँग्रेसले वाम गठबन्धनको इरादा पूरा हुन नदिने दाबी पनि उनले गरे ।
 
उनले वाम गठबन्धनले दिएको समृद्धिको नारा फोस्रो भएको आरोपसमेत लगाए । ‘कहाँबाट समृद्धि ल्याउँछन्, उनीहरु आए स्वदेशी / विदेशी कुनै पनि लगानी नेपालमा थपिँदैन’, उनले भने, ‘विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।’ 
 
नेपाली काँग्रेसको उदार आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई काँग्रेस नेतृत्वको सरकारले मात्र धनी बनाउने दाबी गरे । 
 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने कण्टेनर बनाउन लागेको आरोप लगाए । 
 
स्थानीय निकायको निर्वाचनबाट केही अगाडि देखिनासाथ एमालेले बहुदलीय मान्यतालाई तिलाञ्जली दिएर साम्यवाद अंगाल्न पुगेको जिकिर गर्दै उनले भने– ‘अहिले एमालेले चरम अवसरवाद प्रकट गरिरहेको छ ।’
 
आफैँले हस्ताक्षर गरेको संविधानमा मसी नसुक्दै एमाले र माओवादीले अनर्थको कुरा गरेको बताउँदै उनले कम्युनिष्टहरुले समस्या मात्र जन्माउने तर त्यसको समाधान नखोजेको जिकिर गरे । वाम गठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेशी व्यवस्थाको अन्त्य हुने बताउँदै उनले तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दाबीसमेत गरे ।
 
सोही सभामा बोल्दै काँग्रेस महामन्त्री डा शशांक कोइरालाले काँग्रेसलाई जिताएमा नेपालीको भाग्यरेखा परिवर्तन हुने उद्घोष गरे । 
 
विशाल आमसभामा उद्योगपति विनोद चौधरीले आफू राजनीति गर्न नभई बलियो अर्थतन्त्रको आधारशीला तयार पार्न काँग्रेसमा आवद्ध भएको जिकिर गरे ।
 
नेपाली काँग्रेसले २०४८ सालमा लिएको उदार आर्थिक नीतिका कारण देशले फड्को मारेको दृष्टान्त दिँदै उनले रोजगारी सृजना र आर्थिक उन्नति काँग्रेसको एजेण्डा भएको दाबी गरे ।