भरतपुर– नेपाली कांग्रेस भरतपुर–५ मंगलबार आयोजित घरदैलो कार्यक्रममा चितवन क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार शेषनाथ अधिकारीले आफू पञ्चायतकालमा धेरै समय यही सेरोफेरोमा रहेको बताउँदै त्यसबेलाजस्तै यसपटक पनि आफूलाई मतदाताले माया गर्ने उम्मेदवार अधिकारीले बताए ।
आफूलाई माया गरेको क्षेत्रमा बल्ल प्रत्यक्ष रुपमा काम गर्ने पाउने भएँ भन्दै अधिकारी गुनासो गर्न नपर्ने गरी काम गर्ने बताए । नेपाली कांग्रेस भरतपुर–५ ले नारायणपुर, तोरीखेत ,कैलाशनगर, गुलाबवाग क्षेत्रमा गरेको घरदैलो तथा मतदाता भेटघाट गर्दै यो कुरा बताएका हुन् ।
राजनीति र विकास बुझेका परिपक्व नेता भोट माग्न आफ्नो घरआँगनमा आउने भएपछि स्थानीयवासी स्वागतका लागि आतुर देखिन्थे । आफ्ना क्षेत्रका समस्याको फेहरिस्त सुनाउँदै उनीहरुले अब समस्याको समाधान हुनेमा आश्वस्त थिए । सबै मतदाताको घरमा पुग्नुपर्ने बाध्यताका बीच पनि उम्मेदवार अधिकारीले मतदाताको गुनासो ढुक्क भएर सुनेका थिए ।
शिक्षा राज्यमन्त्रीसमेत रहेका उम्मेदवार अधिकारीले यो निर्वाचन नागरिकलाई सर्वाेच्च बनाउने कि नेताहरुलाई सर्वोच्च बनाउने भन्ने छिनोफानो गर्नेे निर्वाचन भएकाले थप सजग रहन आग्रह गरे ।
नेपाली कांग्रेस चितवनका पूर्वसभापतिसमेत रहेका शेषनाथ अधिकारी भरतपुर–५ साबिकको भरतपुर १३ मा पुग्दा पुराना मतदातामा निक्कै ठूलो उत्साह देखिएको थियो । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका जिल्लास्तरीय नेताहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया