मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार बनाउने र ढाल्ने उम्मेदवारले हार्नुपर्छ : मन्त्री पाण्डे

सरकार बनाउने र ढाल्ने उम्मेदवारले हार्नुपर्छ : मन्त्री पाण्डे


नारायणगढ– वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले सरकार बनाउने र ढाल्ने खेलमा लाग्ने उम्मेदवारलाई मतदान गर्न नहुने बताएका छन् । 
 
भरतपुर–६, गीतानगर गौचरणमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सत्तामा गएपछि आफ्नो निर्वाचन क्षेत्र भुल्ने नेताले विकासको गति अघि बढ्न नसक्ने दाबी गरेका छन् ।
 
‘अस्थिरता ल्याउने, सरकार फेरबदलमा लाग्ने र निर्वाचन क्षेत्र फेर्दै हिँड्ने व्यक्तिबाट गाउँबस्तीका समस्या समाधान हुँदैनन्’, उनले भने, ‘जनताको भविष्य निर्वाचनले गर्छ, स्थानीयले खोजेका बेला भेट्न सक्ने प्रतिनिधि चुन्नुपर्छ, नेता रोजेर हुँदैन ।’ उनले सत्तामा पुगेर ब्रह्मलुट गर्ने स्वार्थमा भिजेका व्यक्तिले चुनावमा दिने आश्वासन कहिल्यै पूरा नहुने दाबी गरे । 
 
‘भोट किनेर सत्तामा पुग्ने, ब्रह्मलुट गर्ने, परिवारको मात्रै चिन्ता गर्नेबाट निर्वाचन क्षेत्रको विकास हुँदैन’, उनले भने, ‘स्थानीय तह चुनावमा चितवनले यो पीडा भोगिसकेको छ, फेरि गल्ती हुन नपाओस् ।’ 
 
उनले टिभीमा हेरेर चित्त बुझाउनुपर्ने नेताभन्दा जनसेवामा लाग्ने प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिए । उनले सुकुमबासी तथा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने काम पूरा गरेरै छाड्ने दाबी गरे । कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) मिलेर निर्वाचन क्षेत्रको विकासमा प्रतिवद्ध बनेर विकासका योजना कार्यान्वयन गरिने दाबी गरे ।
 
उनले माडी बाँदरझुला बस्तीलाई राजनीतिक खेलाडीहरुले भोट बैंकका रुपमा राखेको आरोप लगाए । हाइवेनजिकै उचित व्यवस्थासहित सरकारले स्थानान्तरणको पहल गरे पनि अनावश्यक रुपमा भ्रम फैलाएर स्थानान्तरण प्रक्रिया अवरुद्ध पारेको उनले बताए । पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।