हिमालय खबर संवाददाता
भरतपुर– चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मैदानमा उत्रिएपछि माडीका बाँदरमुढे घटनाका पीडित उच्च निगरानीमा परेका छन् । प्रचण्ड माडी पुग्दा जहिल्यै पनि बाँदरमुढे पीडितलाई उच्च निगरानीमा राख्ने गरिएको छ ।
आइतबार बिहानै माडी पुगेका प्रचण्डलाई बाँदरमुढे पीडितले कालो व्यानर राखेर विरोध प्रदर्शन गर्ने तयारी गरेका थिए । सुरक्षा संयन्त्र र माओवादीको भातृ संगठन वाईसीएलको उच्च निगरानीपछि उनीहरुले विरोध प्रदर्शन गर्न भने सकेनन् । बाँदरमुढे घटनापीडितका अनुसार प्रचण्ड माडी आउनसाथ पीडितहरुलाई सुरक्षा संयन्त्रले घेर्ने गरेको छ ।
स्थानीयस्तरका माओवादीका नेता तथा कार्यकर्ताहरुले पीडितहरुलाई प्रचण्डविरुद्ध बोले मार्नेसम्मको धम्की दिने गरेको बाँदरमुढे घटनापीडित संघर्ष समितिका सह–संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिए । उनले भने– ‘हिजो शनिबार नारायण दाहालसँग छलफल भएको थियो, छलफलमा दाहालले माओवादीले दिने न्याय स्वीकार्न अनुरोध गर्दा हामी मानेनौँ, कानुनले दिने न्यायमात्र हामी मान्न तयार छौँ ।’
उनले भने, ‘वाईसीएल कार्यकर्ता र प्रचण्डका भाइ नारायण दाहाल आएर अहिले पुरानो घटना नब्युँताउनू, चुनावपछि जे पनि हुनसक्छ, ज्यानसम्म जानसक्छ भनेर धम्क्याएको बताए । अधिकारीले भने, ‘हामी पीडितले प्रचण्डलाई भेटेर विरोध जनाउने तयारी गरेका थियौँ । आइतबार भेट्ने कुरा पनि गरेका थिए तर हिजै नारायण दाहाल र केही वाईसीएलका कार्यकर्ता आएर मार्नेसम्मका धम्की दिए । यहाँ चुनावभन्दा पनि आतंक मच्चाउने काम भयो ।’
लगत्तै दाहाल बाहिरिएपछि आफूहरुलाई सशस्त्र प्रहरी र वाईसीएल कार्यकर्ताले उच्च निगरानीमा राखेपछि सबै परिवार त्रसित बनेको बताए । पीडित अधिकारीले थपे– ‘हामीलाई जहिल्यै पनि डर, त्रास, धम्की देखाउँदा माडीमा बस्न सक्ने अवस्था छैन । सबै परिवार, आफन्त नै चिन्तित छन् ।’ अधिकारी बाँदरमुढे घटनामा स्वयं घाइते भएका थिए ।
बाँदरमुढे घटनामा १२ वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय धरापमा यात्रुबाहक बस पर्दा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।
२०६२ जेठ २३ गते माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ गैरहेको ना २ ख ३२४५ नम्बरको बस कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा एम्बुसमा परेको थियो ।
यस्तै घटनाका पीडितहरुसँग केन्द्रीय नेतृत्वले भेट्न खोजे पनि स्थानीयस्तरका कार्यकर्ताले भेट्न नदिने गरेको बाँदरमुढे घटनापीडित संघर्ष समितिका सदस्य सुदीप न्यूरेले बताए ।
उनले माओवादी (केन्द्र)का स्थानीय नेता, कार्यकर्ताको मानसिकता नै स्थानीयस्तरमै दबाएर राख्न सकिने भएकाले अहिलेसम्म समस्या समाधान हुन नसकेको बताए । न्यूरेले भने– ‘हामी प्रचण्डसँगै बसेर छलफल गर्न तयार छौं, तर स्थानीय नेता, कार्यकर्ता बाधक बनेका छन् ।’
बाँदरमुढे स्मारकमा माल्यार्पण
प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भूलवश भएको गल्ती भनेर स्वीकारेका छन् । उनले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नंको बसलाई कल्याणपुर र वसन्तपुरबजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो ।
सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा माओवादी आलोचित बन्न परेको थियो । घटनापछि पहिलोपटक प्रचण्ड बाँदरमुढे पुगेका हुन् ।
प्रतिक्रिया