मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धनगढीमा आरजुप्रति ओलीको कटाक्ष– ‘एक झोला पैसाले घर किन्दैमा स्थानीय भइँदैन’

धनगढीमा आरजुप्रति ओलीको कटाक्ष– ‘एक झोला पैसाले घर किन्दैमा स्थानीय भइँदैन’


धनगढी– नेकपा एमालेका अध्यक्ष केपी ओलीले संयुक्त वाम गठवन्धनद्वारा धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कैलाली–५ की कांग्रेस उम्मेदवार आरजु राणा (देउवा)को चर्को आलोचना गरेका छन् । 
 
केही दिनअघि धनगढीमा घर किनेकी आरजुप्रति व्यङ्ग्य गर्दै उनले भने– ‘एक झोला पैसाले घर किन्दैमा आरजु धनगढीको स्थानीय हुन्न् ।’ 
 
उनले भने– ‘केही मान्छेले काठमाडौंबाट पैसाको थैलो बोकेर मत यहीँको भएँ भन्नलाई घर घडेरी किनेका छन्,’ शुक्रबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘एक झोला पैसाले घर किन्दैमा यहाँको भइन्छ र ?’ 
 
प्रधानमन्त्री देउवा पत्नी आरजुप्रति व्यंग गर्दै ओलीले भने, ‘धन्न हो कांग्रेसको लोकतन्त्र १ माथितिर श्रीमान् अलि तल श्रीमती । छोरा अलि सानो छन्, नत्र उनी पनि उम्मेदवार हुन्थे ।’
 
कैलाली ५ का वाम गठवन्धनका उम्मेदवार नारदमुनी रानाको पक्षमा भोट माग्दै ओलीले १०४ वर्ष शासन गरेका राणाका सन्तानले भन्दा यहाँका थारुले जित्नु आवश्यक रहेको बताए । 
 
एमाले अध्यक्ष ओलीले श्रीमतीलाई जिताउनकै लागि प्रधानमन्त्रीले प्रहरी अधिकारीदेखि सीडिओहरु फेरिरहेको आरोप लगाए । ‘सरकारी कर्मचारी दुईदिने सरकारका नोकर होइनन्,’ ओलीले भने, ‘सबैको भूमिका निश्पक्ष हुनुपर्छ । एकाध मान्छेको सेवामा इमान छोड्न र कानुन तोड्न काम गर्नु हुँदैन ।’
 
सरकारले चुनावमा धाँदली गर्ने योजना बनाएको भन्दै आफूले त्यस्तो हुन नदिने दाबी गरे ।