मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशीको इशारामा चल्ने नेताले देश समृद्ध बनाउँदैनन् : मन्त्री पाण्डे

विदेशीको इशारामा चल्ने नेताले देश समृद्ध बनाउँदैनन् : मन्त्री पाण्डे


चितवन– चितवन ३ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रलाई समृद्ध बनाउने अठोटसहित चुनावी मैदानमा आएको बताएका छन् ।
 
भरतपुर–१६ को झनझनेमा आयोजित कोणसभामा बोल्दै वन तथा भू–संरक्षण मन्त्री पाण्डेले ०६४ सालमा साविक ४ र ५ क्षेत्रमा माओवादीले चुनाव जित्दा विकास निर्माणका काम ल्याउन पहल नगरेको इतिहास जनताले नभुलेको दाबी गरे ।
 
“०६४ सालमा ४ नम्बर क्षेत्रबाट चित्रबहादुरजीले जित्नुभयो, ५ नम्बर क्षेत्रबाट अमिकजीले जित्नुभयो”, उनले भने, “त्यो बेला कुन विकासका लहर ल्याउनुभयो ?, जनता फेरि झुक्किनेवाला छैनन् ।” 
 
उनले ०७० सालमा ५ नम्बर क्षेत्रमा आफू र ०७१ मा ४ नम्बर क्षेत्रमा काँग्रेसका रामकृष्ण घिमिरेले चुनाव जितेपछि हालको निर्वाचन क्षेत्रमा विकास निर्माणले गति लिएको दाबी गरे । 
 
स्थानीयस्तरमै रहेर विकास निर्माणका योजना कार्यान्वयन गराउन लागेपछि विपक्षी गठबन्धन अत्तालिएर अनेक भ्रम छर्दै हिँडेको आरोप लगाए । उनले माओवादीबाट ३ जना प्रधानमन्त्री हुँदासमेत हालको निर्वाचन क्षेत्र सधैँ उपेक्षामा परेको बताए । 
 
उनले भ्रष्टाचारमा रमाउने र विदेशीको इशारामा चल्ने नेताले देश समृद्ध बनाउन नसक्ने बताए । ५ वर्षे कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रलाई काँग्रेसको साथ लिएर विकसित क्षेत्र बनाउने दाबी गरे ।
 
लोकतान्त्रिक गठबन्धनले शुक्रबार भरतपुर–१६ का फुर्तिचोक, गोविन्दचोक, नर्सरी चोक, चिरञ्जीवी चोक, विजयनगरको मगर टोल, लामा चोक, घुम्तिचोक, सृजनशील चोकलगायतका ठाउँमा घरदैलोपश्चात चुनावी कोणसभा गरेको थियो । 
 
यसैबीच, भरतपुर–१६ मा चुनावी अभियानका शिलशिलामा १२ जना माओवादी (केन्द्र)का कार्यकर्ता काँग्रेसमा र १२ जना एमालेका कार्यकर्ता राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश गरेका छन् ।