चितवन– नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ को प्रचार–प्रसार अभियानअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ मा घरदैलो तथा चुनावी सभा सम्पन्न भएको छ ।
सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार जीतनारायण श्रेष्ठले कविलासको मुहार फेर्ने बताए । काँग्रेसको जितले विकासको मुल फुट्ने बताउँदै उनले जनताको अधिकारको रक्षाका लागि सधैँ आफू लड्ने बताए ।
काँग्रेस कर्ममा विश्वास राख्ने पार्टी भएको भन्दै उनले अनावश्यक आश्वासनको पछि नलाग्न मतदातालाई आग्रह गरे । उनले भने– ‘हामी जे बोल्छौँ, त्यो गछौँ ।’
वाम गठबन्धनको नाममा अहिले राष्ट्रलाई अधिनायकवादको जडतिर लाने प्रयास भएको भन्दै उनले काँग्रेसको जितले जनताले शान्ति र अमनचयनको शास फेर्न पाउने बताए ।
देशका हरेक आन्दोलनमा काँग्रेसको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले २०६३ सालको संविधानसभाको निर्वाचनमा वाम शक्तिको बहुमत रहेको समयमा संविधान दिन नसकेको तर ०७० सालको निर्वाचनमा काँग्रेस पहिलो शक्ति हुँदा संविधान जारी भएको बताए ।
काँग्रेसले जनताको हरेक समस्या बुझ्ने गरेको बताउँदै उनले काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे । नेपाली काँग्रेसले योग्यता र क्षमताको कदर गर्ने बताउँदै उनले जनतालाई कसैको डर र आश्वासनमा नलाग्नसमेत आग्रह गरे ।
वाम गठबन्धनलाई धक्का
निर्वाचनको मिति नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर २ (क) मा वाम गठबन्धनलाई ठूलो धक्का पुगेको छ ।
वाम गठबन्धनका नाममा जनतालाई झुक्याउने काम भएको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर २९ कविलासमा माओवादीका नेता भरत गुरुङ, रणबहादुर गुरुङ र एमालेका युवा परिचालन समितिको संयोजक मधु गुरुङको नेतृत्वमा सयौँ युवा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । जनतालाई झुटा आश्वासन देखाउँदै आफूहरु मालिक बन्न खोजेको भन्दै उनीहरुले आक्रोशसमेत पोखेका थिए ।
काँग्रेस चितवनले आयोजना गरेको चुनावी सभामा पार्टी प्रवेश गर्दै युवा परिचालन समितिका संयोजक मधु गुरुङले जनताले अब विकास चाहेको बताए ।
कम्युनिष्टको नाममा जनतालाई झुक्याउने र विकास निर्माणमा सधैँ कविलासलाई पछि पार्ने गरेको आरोप उनको थियो । जनताको चाहना र मर्मअनुसार काम गर्नुको सट्टा कम्युनिष्ट दलका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको गुरुङको भनाइ थियो ।
कम्युनिष्टको किल्ला मानिने कविलासबाट सयौँ स्थानीय नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेस प्रवेश गरेपछि बोल्दै माओवादीका नेता भरत गुरुङले पार्टी अहिले पारिवारिक रुपमा चलेकाले काँग्रेसमा प्रवेश गरेको बताए ।
‘माओवादी केन्द्र अहिले विचारबाट होइन, दाहाल परिवारबाट चलेको छ’– उनले भने, ‘जनताको मर्मलाई आत्मसात् गर्न नसक्ने नेता भएका कारण पार्टी कहिल्यै नसुध्रिएन ।’
माओवादी केन्द्र र एमालेका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेपाली काँग्रेस चितवनका सभापति एवं चितवन क्षेत्र नम्बर २ (क) बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार जितनारायण श्रेष्ठले जनता अहिले विकासको पक्षमा रहेको बताए ।
प्रतिक्रिया