मेलम्ची– विगत लामो समयदेखि सिन्धुपाल्चोकलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर चुनावमा भाग लिँदै आएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अहिले पनि जिल्लाका ठूला साना पहाड उक्लँदै छन् ।
लामो समयदेखि सिन्धुपाल्चोकको राजनीतिमा सक्रिय रहेका उनी यो वर्ष हुन लागेको निर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवार छन् । संविधानसभा चुनावको पहिलो र दोस्रोपटक हार व्यहोरेका अध्यक्ष राणा बढ्दो बुढेसकालको वास्ता नगरी यतिबेला जिल्लाका विभिन्न पहाड उक्लँदै मतदातासँग मत माग्न व्यस्त छन् ।
हिमाली गाउँमा पुगेर आफ्नो पक्ष (लोकतान्त्रिक गठबन्धनलाई) भोट माग्दै कहिले हेलम्बुको डाँडा, कहिले ज्यामिरेको डाँडा र कहिले शेर्माथाङको डाँडा पुगेका ७६ वर्र्षीय राणालाई देखेर युवामा पनि जोश जाँगर बढेको छ । हिमाली गाउँलाई पर्यटकीयस्थल बनाउने र पहाड तथा बेँसीका बस्तीमा पुनर्निर्माणका लागि सहयोग गर्ने उनको मुख्य एजेण्डा छ ।
पर्यटकीय क्षेत्रमा काम गर्दै आएका लोकतान्त्रिक गठबन्धन सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार निमा लामाको सहयोगले पनि आफ्नो चुनावी एजेण्डालाई निकै सहयोग मिल्नेमा राणा विश्वस्त छन् ।
पहाड उक्लँदै विभिन्न गाउँमा पुगेका उनी स्थानीयवासीका साथ र सहयोगबाट निकै हौसिएका छन् । अध्यक्ष राणाले भने, ‘यसअघिका दुईवटा निर्वाचनमा राम्रोसँग हिँडडुल गर्न नपाउँदा थोरैमात्र मतान्तरले हारेको हुँ । यसपटक पूरै गाउँ पुग्ने अवसर पाएको छु भने काँग्रेसका दुई उम्मेदवारका साथले पनि मैले चुनाव जित्नेमा कुनै द्विविधा छैन ।’
भोटेचौरको चिया बगान, मेलम्ची घ्याङ शेर्माथाङ, पाँचपोखरी, हेलम्बु र गुफाडाँडालाई विदेशी र आफ्नै व्यक्तिगत पहलमा छोटो समयमै नमूना पर्यटकीयस्थल बनाउने उनको योजना छ ।
पर्यटकीय व्यवसायी निमा लामालाई समेत प्रदेशको उम्मेदवारका रूपमा पाएकाले हरेक क्षेत्रमा एक/एक वटा पर्यटकीयस्थल निर्माण गरिदिने तथा भत्केका संरचनाको पुनर्निर्माण गर्नेदेखि लिएर पर्यटन विकासका क्षेत्रलाई मुख्यरूपमा अगाडि बढाउने अध्यक्ष राणाले वचन दिएका छन् ।
सिन्धुपाल्चोकको समग्र विकासका लागि लोकतान्त्रिक शक्ति एक भएर लाग्नुपर्ने बताउँदै प्रदेशसभा ‘ख’का उम्मेदवार निमा लामाले पनि आफ्नो संयुक्त चुनावी एजेण्डा पर्यटकीय विकास भएको बताएका छन् ।
लामो समयदेखि पर्यटकीय विकास र प्रवद्र्धनमा लागेका लामाले युवाको बढ्दो बेरोजगारीलाई सम्बोधन गर्दै पर्यटकीय क्षेत्रमा युवालाई परिचालन गर्ने योजना अघि बढाएकाले पनि युवाले लामालाई साथ दिनेमा कुनै शंका नभएको उनको भनाइ छ ।
चुनावी आश्वासनमात्र बाँढेर हुँदैन महँगा भाषणलाई भन्दा आफूले थोरै बोल्ने तर धेरै गर्ने नेताका रूपमा परिचित गराउने अध्यक्ष राणाको भनाइ छ ।
उनी भन्छन्, ‘मैले धेरै चुनावी गफ भजाएको छैन । अघिल्ला निर्वाचनमा पराजित भए पनि आफूले गर्न सक्नेमात्र बोलेको छु र बोलेको कुरा पूरा गरेर पनि देखाउँछु ।’
त्यसैगरी दुईपटक संविधानसभाको निर्वाचनमा राणालाई हराएका वाम गठबन्धनका शेरबहादुर तामाङ र दावा तामाङ संयुक्त युवा चुनावी अभियानमा छन् ।
पहिलो संविधानसभाको चुनावमा राणालाई हराएका दावा तामाङ निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’का उम्मेदवार छन् भने शेरबहादुर तामाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार छन् ।
राणालाई दोस्रो संविधानसभामा दुई हजार मतले हराएका प्रतिनिधिसभाका उम्मेदवार तामाङ पनि आफ्नो चुनावी एजेण्डाका साथ गाउँमा सक्रियरूपमा लागिपरेका छन् ।
निर्वाचनमा बढी मत दिएर विजयी गराएमात्र विकासको कार्य सफल हुने तामाङको नारा छ । दुई पूर्वसांसद एकै ठाउँमा छौँ यो मौका नचुकाउनुहोस् भन्दै तामाङले फेरि पनि आफूलाई विजयी गराएर पहिलेको बाचा पूरा गर्ने मौका दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु भने । यसअघि तीन क्षेत्र रहेको यो जिल्ला नयाँ संविधान जारी भएपछि दुई निर्वाचन क्षेत्र कायम भएको हो ।
मंसिर १० गते हुने चुनावमा तामाङ र राणा आ–आफ्नो पक्षमा चुनावी नतिजा पार्नमा घरदैलोमा व्यस्त छन् । रासस
प्रतिक्रिया