मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोरखाको विकासका लागि डा भट्टराईलाई जिताउन जोड

गोरखाको विकासका लागि डा भट्टराईलाई जिताउन जोड


गोरखा– काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गरेका छन् । 
 
नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा उनले नेपालमा संसदीय व्यवस्थाको विकल्प नरहेको चर्चा गर्दै काँग्रेसले बहुमतसहितको सरकार बनाउने विश्वास व्यक्त गरे । 
 
पौडेलले भने, ‘अधिनायकवाद र लोकतन्त्रबीचको लडाइँ देखिन्छ । अधिनायकवादमा फस्ने कि लोकतन्त्रमा रमाउने भन्ने निर्वाचनबाट टुंगो लाग्छ ।’
 
गोरखा–२ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिका लागि आफूलाई जिताएर पठाउन आग्रह गरे । काँग्रेससँगको सहकार्यले मात्रै शान्ति र संविधान कार्यान्वयन हुने उनको भनाइ थियो । एमाले र माओवादी रूपान्तरण हुन नसकेको उम्मेदवार भट्टराईको टिप्पणी थियो ।
 
काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले गोरखा–२ मा बाबुराम भट्टराईले जितेमा संसद्मा काँग्रेस बलियो शक्ति हुने बताए । व्यक्तिगत पीडा भुलेर पार्टीको आह्वानअनुसार भोट दिन आग्रह गर्दै उनले संविधान र प्रजातन्त्र बचाउन काँग्रेसका उम्मेदवारले जित्नैपर्ने बताए ।
 
काँग्रेसका अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले संविधान निर्माणमा डा भट्टराईले निर्वाह गरेकोे भूमिका प्रशंसायोग्य छ भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई बिनाहिचकिचाहट भोट दिएर जिताउन आग्रह गरे ।
 
आमसभामा काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिकी नेत्री करिष्मा मानन्धर, सहिद परिवारका सदस्य दीपक हमाल, काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङ, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, गोरखा–२ प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार प्रकाशचन्द्र दवाडीलगायतले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरेका थिए । 
 
यस्तै सोमबार नै गोरखाको आरुघाटमा आयोजित चुनावी सभालाई नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराई, काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, गगनकुमार थापा, गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठ, गोरखा–१ प्रदेशसभा (ख) का उम्मेदवार राजेन्द्र बजगाईंलगायतले सम्बोधन गरेको काँग्रेस सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए । रासस