चितवन– पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको निधनको खबरसँगै चितवन शोकमा डुबेको छ ।
प्रचण्डपुत्र प्रकाशका शुभचिन्तक, राजनीतिक दलहरु तथा इष्टमित्रहरु गहिरो शोकमा रहेका छन् । चितवन प्रचण्डको गृह जिल्ला हो । प्रकाशको निधनप्रति गहिरो समवेदना जनाउँदै यहाँका राजनीतिक दलहरुले आइतबारका सम्पूर्ण चुनावी कार्यक्रमहरु पनि स्थगित गरेका छन् ।
वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धनलगायतले चुनावी कार्यक्रमहरु स्थगित गरेका छन् । वाम गठबन्धनबाट गठित चुनावी परिचालन समितिले क्षेत्र नं. ३ का सबै चुनावी कार्यक्रमहरु स्थागित भएको जनाएको छ । चितवन क्षेत्र नं. २ का वाम गठबन्धन प्रचारप्रसार समितिका संयोजक घनश्याम भट्टराईले पनि दुई नम्बर क्षेत्रका सबै औपचारिक कार्यक्रम स्थगित भएको बताए ।
वाम गठबन्धनबाट मात्रै नभएर दाहालका प्रतिस्पर्धी उम्मेदवार विक्रम पाण्डे तथा लोकतान्त्रिक गठबन्धनले पनि चुनावी कार्यक्रमहरु स्थगित भएको जनाएको छ ।
प्रकाश २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिका हुन् । उनको बाल्यकाल चितवनमै बितेको थियो । उनी अध्यक्ष पुष्पकमलका स्वकीय सचिव एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । द्वन्द्वकालमा भूमिगत रहेर बुवासँगै उनले राजनीति गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले दाहाल परिवारमा परेको पीडाप्रति आफू मर्माहित भएको जनाउँदै आइतबार घरदैलो र चुनावीसभाका सबै कार्यक्रम स्थगन गरिएको बताए । उनले भने, ‘एक होनाहार युवाको निधन भएको छ, म दुःखी छु । दाहाल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’
पाण्डेको क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका–२१ को पार्वतीपुर र २६ को दिव्यनगरमा आइतबार घरदैलो र चुनावीसभाका कार्यक्रम थिए । प्रकाशको निधनको खबर पाउनासाथ सबै कार्यक्रम स्थगन गरेर उनी समवेदना व्यक्त गर्न काठमाडौँ गएका छन् ।
त्यस्तै वाम गठबन्धनले जिल्लाका तीनवटै क्षेत्रमा आज गर्ने भनेको घरदैलो र चुनावीसभाका कार्यक्रम सबै स्थगन गरिएको माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले बताए ।
पार्टी अध्यक्षका पुत्र प्रकाशको निधनले सिंगो देश शोकमा रहेको भन्दै जिल्लाका सबै कार्यक्रम स्थगन गरिएको उनले बताए । वाम गठबन्धनले यही मंसिर ५ गते भरतपुरमा गर्ने भनिएको चुनावीसभा भने हालका लागि स्थगन गरिएको छ । सो सभालाई माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम थियो ।
प्रकाशको निधनसँगै भरतपुरमा रहेकी प्रकाशकी दिदी भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालसहित जिल्लाका माओवादी नेता र शुभेच्छुक हेलिकप्टर र जहाजमार्फत काठमाडौँ गएका छन् । निर्वाचनमा बुबा पुष्पकमल चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेपछि बुबासँगै धेरै समय यहीँ रहेकाले प्रकाश चितवनमा राम्ररी परिचित थिए ।
प्रकाशसँग गहिरो सम्बन्ध रहेका रत्ननगरका गणेश पौडेल र प्रदीप बञ्जारा आइतबार निन्याउरो मुख लगाउँदै स्तब्ध देखिएका थिए । ‘साह्रै नै खल्लो र पीडा भइरहेको छ’, पौडेलले भने, विश्वासै गर्न सकिरहेको छैन ।’
प्रतिक्रिया