चितवन– नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ (क) प्रदेशसभाका उम्मेदवार जीतनारायण श्रेष्ठले नारायणगढबजारलाई नमुना सहर बनाउने बताएका छन् ।
बुधबार भरतपुर महानगरपालिका वडा नम्बर ३ मा घरदैलो कार्यक्रमपछि बोल्दै उनले सो कुरा बताएक हुन् । अहिले बजार व्यवस्थापनमा ठूलै समस्या देखिएको भन्दै उनले बजार व्यवस्थापनसहित हरियाली सहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।
हरेक क्षेत्रको विकासका लागि नेपाली काँग्रेस आवश्यक रहेको बताउँदै उनले नारायणगढबजारलाई सुव्यवस्थित पार्दै नमुना बनाउने बताएका हुन् ।
चितवनलाई आर्थिकरुपमा बलियो बनाउँदै आर्थिक राजधानीको रुपमा अघि बढाउन सकिने उनले बताए । जिल्लामा बिकासका लागि प्रचुर सम्भाबना रहेको भन्दै उनले यस क्षेत्रको विकासका लागि कुनै कसुर बाँकी नराख्ने प्रतिज्ञा गरे ।
नेपाली काँग्रेस चितवनका सभापतिसमेत रहेका श्रेष्ठले निर्वाचनमा जनताको मन जित्नु आवश्यक रहेको भन्दै तालमेलले मात्रै निर्वाचन नजितिने स्पष्ट पारे ।
अहिले संविधान कार्यान्वयनको समय रहेको भन्दै उनले काँग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि काँग्रेस नै आवश्यक रहेको उल्लेख गरे ।
‘काँग्रेसले संविधानको मर्म बुझेको छ, यसलाई कसरी कार्यान्वयन गराउनुपर्छ भन्ने पनि काँग्रेसलाई थाहा छ’ उनले भने । प्रदेशसभाका उम्मेदवारसहित आयोजित घरदैलो कार्यक्रममा सर्वसाधारणले बजारे व्यवस्थापनका लागि आग्रह गरेका थिए । बिहीबारदेखि काँग्रेस चितवन क्षेत्र नम्बर २ ले इच्छाकामना गाउँपालिकामा घरदैलो कार्यक्रम गर्दैछ ।
प्रतिक्रिया