मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालगृहका सञ्चालक नै भक्षक भएपछि….

बालगृहका सञ्चालक नै भक्षक भएपछि….


चितवन– पूर्वी चितवनको रत्ननगरमा सञ्चालित बालगृहका सञ्चालकले एक बालिकालाई जबर्जस्ती करणी गरेको रहस्य खुलेको छ । 
 
सुर्खेत जिल्ला घर भएकी बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहितको उजुरी दिएपछि घटना बाहिर आएको हो । रत्ननगर–१ भक्तिनीबगैँचामा बिनादर्ता सञ्चालित सो बालगृहका सञ्चालक ६१ वर्षीय गोविन्द ढकालले १२ वर्षीया ती बालिकालाई जबर्जस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
 
सञ्चालक ढकालले ती बालिकालाई ०७३ वैशाखदेखि ०७४ भदौसम्म पटकपटक करणी गर्दै आएको बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन् । पाँच वर्षदेखि सो बालगृहमा बस्दै आएकी ती बालिका सञ्चालक ढकालको अत्याचार सहन नसकेर गत भदौ महिनामा आफ्नै घर सुर्खेत गएकी थिइन् ।
 
बालिकाले आमालाई घटनाबारे जानकारी गराएपछि आफन्तहरुले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा परीक्षण गरी आमाले कार्तिक २६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएकी थिइन् ।
 
किटानी जाहेरी दिएको एकघण्टा नबित्दै इलाका प्रहरी कार्यालय रत्ननगरले अभियुक्त ढकाललाई पक्राउ गरेको थियो । ढकाललाई कार्तिक २७ गते म्याद थप गरी थुनामा राखेर अनुसन्धान भइरहेको इलाका प्ररही कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले जानकारी दिए ।
 
अभियुक्त ढकाल सेवा निवृत्त शिक्षक हुन् । घटना पुष्टि भए अभियुक्त ढकाललाई अधिकतम १२ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । प्रहरीमा किटानी जाहेरी परेपछि ती बालिकालाई थप अनुसन्धानको लागि चितवन ल्याइएको प्रहरीले जनाएको छ ।
 
तीन बालिकाको उद्धार
 
सो बालगृहमा बालिका बलात्कृत भएको रहस्य बाहिर आएपछि त्यहाँ रहेका अन्य तीन जना बालिकालाई बुधबार उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र महिला तथा बालबालिका कार्यालय भरतपुरले जनप्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा बालिकाहरुको उद्धार गरेको हो ।
 
रत्ननगर १ का वडा सदस्य शालिकराम पराजुलीको पहलमा गृहमा रहेका तीनजना बालिकाको सुरक्षाको लागि उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा हरिबाबु ढकाल, महिला तथा बालबालिका कार्यालयकी सहायक महिला विकास निरीक्षक निमा खड्का, बाल संरक्षण व्यक्ति मिठु आचार्य, वडा नं १ वडाध्यक्ष शंकरसिंह तामाङ, वडा सदस्यहरु शालिकराम पराजुली र बाबुराम गौतमलगायतको टोलीले बालिकाको उद्धार गरेको थियो ।