चितवन– चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननेता मदन भण्डारीको सपना साकार हुने दिन आएको बताएका छन् ।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा मदन स्मृति पार्क गाँजीपुरमा पुगेका प्रचण्डले मदन भण्डारीको सपना वाम गठबन्धनको बहुमतको सरकारले नै साकार पार्ने बताए ।
मदन स्मृति पार्कमा पुगेर जननेता मदन भण्डारीको स्मरण गर्दै अध्यक्ष प्रचण्डले अब भण्डारीको सपना साकार हुने दिन नजिक आइरहेको बताए । गाँजीपुर मदन भण्डारीको शव प्राप्त भएको ठाउँ हो । त्यहाँ मदन स्मृति पार्क निर्माण भएको छ ।
उनले अबको ५ वर्षमा चितवन विकास र सभ्यताको दृष्टिकोणले देशकै नमुना जिल्ला बनाइ छाड्ने बताए । उनले भने, ‘विगतमा धेरै उम्मेदवारहरूले चितवनबाट चुनाव लडेर जिते पनि जनताको आशा पूरा हुन सकेनन् । म विगतमा अरूले नगरेका काम योजनाबद्ध ढंगले पूरा गर्न चितवन नै आएको हँु ।’
प्रचण्डले राजनीतिक लडाइँ पूरा भएको भन्दै अबको बाटो तीव्र विकाससँगै समृद्धिमार्फत नेपाली जनताको मुहार फेर्ने बताए । आफू प्रधानमन्त्री हुँदा चितवनलाई रणनीतिक महत्वका योजनाहरू पारेको बताउँदै उनले भने, ‘नारायणी र राप्ती नदीमा तटबन्ध गरी त्यसैको छेउबाट भरतपुरमा महानगरस्तरीय रिङरोड र लिंक रोड निर्माणको चरणमा रहेको र दुई अर्बभन्दा बढी बजेट चितवनमा पारेको छु ।’
शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र औद्योगिक विकासमार्फत रोजगारी सिर्जना गरी सम्पूर्ण शक्ति राष्ट्र निर्माणमा केन्द्रित गर्ने आफ्नो योजना रहेको उनले बताए । यसका लागि ५ वर्षको स्थिर सरकार अनिवार्य भएको बताउँदै उनले भने, ‘म चितवन आएको खास कारण समृद्ध चितवन बनाउनै हो ।’
प्रतिक्रिया