मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब मतपत्र च्यातिँदैन : प्रचण्ड

अब मतपत्र च्यातिँदैन : प्रचण्ड


चितवन– माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका वडा नं १९ मा घटेको मतपत्र च्यात्ने घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको बताएका छन् । 
 
पश्चिम चितवनको शारदानगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनका बेला भरतपुर १९ भएको घटनाबाट शिक्षा लिँदै त्यस्ता घटना दोहोरिन दिन नहुनेमा जोड दिए ।
 
प्रचण्डले भने, वडा नं। १९ नेपालको चर्चाको विषय बन्यो, त्यतिबेला जुन घटना घट्यो, त्यो इतिहासकै दुर्भाग्यपूर्ण घटना हो, त्यसबाट हामीले शिक्षा लिनुपर्छ, त्यस्ता घटना आगामी निर्वाचनमा दोहोरिन दिनु हुन्न । स्थानीय तहको निर्वाचनका बेला भरतपुर–१९ को मतगणनाका क्रममा गणनास्थलमै माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । त्यसपछि त्यहाँ पुनः मतदान भएको थियो ।
 
चार दिनदेखि चितवनमा चुनावी अभियानमा सक्रिय प्रचण्डले आइतबार चितवन निर्वाचन क्षेत्र नं। ३ का विभिन्न १० ठाउँमा भएको चुनावीसभालाई सम्बोधन गरेका छन् । 
 
चुनावी सभालाई सम्बोधन गर्दै दाहालले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने शक्तिहरुसँग गठबन्धन गरेर जान सुझाव दिए । देशका ठूला पार्टीहरु मिलेर अघि बढ्नुपर्छ, एमाले र माओवादी केन्द्रको गठबन्धनबाट काँग्रेस आत्तिन जरुरी छैन, काँग्रेसले पनि विचार मिल्ने शक्तिहरुसँग एकता गर्नु राम्रो हुन्छ, अध्यक्ष प्रचण्डले भने ।
 
अबको युग समृद्धिको युग भएको भन्दै प्रचण्डले त्यसका लागि स्थिर सरकार निर्माण गर्न आफू लागिपरेको बताए । प्रचण्डले भरतपुर महानगरका १५, १६ र १९ नं वडाको मंगलपुर, फूर्तिचोक, शरणपुर, शिवघाट, विजयनगर, शारदानगर, रामपुर, गुञ्जनगर, रानीपोखरीलगायत स्थानमा आयोजित सभालाई सम्बोधन गरे ।