मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्डसँग लालपुर्जा माग्दै पुर्जाविहीन मतदाता

प्रचण्डसँग लालपुर्जा माग्दै पुर्जाविहीन मतदाता


नारायणगढ– चितवन क्षेत्र नम्बर–३ का उम्मेदवार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला घरदैलो अभियानमा रहेका छन् । क्षेत्र नम्बर ३ को विभिन्न वडाहरुको घरदैलोमा पुग्दा लालपुर्जाविहीन जनताले लालपुर्जा दिलाइदिन आग्रह गरेका छन् ।  
 
भरतपुर महानगरपालिका वडा नम्बर १४ का लालपुर्जाविहीन नागरिकले पुस्तौंदेखि बसोबास गर्दै आएको भूमि हालसम्म पनि आफ्नो हुन नसकेको गुनासो गरेका थिए ।
 
१४ नम्बर वडाका भीमसेन नगर, सुन्दरबस्ती, गौचरनलगायतका गाउँमा करिब ४०० घरपरिवार लालपुर्जाविहीन छन् । उनीहरुले पुस्तौंदेखि भोगचलन गर्दै आएको जमिनको लालपुर्जा पाएका छैनन् । घरदैलोमा पुगेका प्रचण्डसँग उनीहरुले हातैमा लाजपुर्जा थमाइदिन आग्रह गरेका थिए । 
 
उनीहरुको जवाफमा पूर्वप्रधानमन्त्री दाहालले वाम गठबन्धनको बलियो सरकारले नै सुकुमबासीहरुलाई लालपुर्जा दिलाउन सक्ने बताए । उनले भने– ‘तपाईंहरुको समस्या समाधान गर्न बलियो सरकार बन्नुपर्छ ।’ 
 
सुकम्बासी बस्ती पारिलोटाहारका धनबहादुर गुरूङले प्रचण्डसामु भूमिहीन, लालपूर्जाविहीन नागरिकहरूको समस्या समाधान हुन नसकेकोमा चिन्ता प्रकट गरे । उनले सकुमबासीहरुले हालसम्म लालपुर्जा नपाएको गुनासो गरेका थिए । 
 
पार्वतीपुर गौचरनकी कुमारी गुरूङले विगतमा पनि उम्मेदवारहरुले  लालपुर्जा दिन्छु भनेर आश्वासन दिएर भोट हालेको बताउँदै अब पनि त्यस्तै आश्वासनमात्र पाइने हो कि भनेर आशंका गरेकी थिइन् । भरतपुर–१४ कै राम रिजालले भूमिहीन नागरिकहरूलाई राज्य र समाजले विभेद गरेको गुनासो गर्दै अध्यक्ष प्रचन्डसमक्ष सबैखाले विभेदको अन्त्य हुने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । 
 
२०४१ सालदेखि भरतपुर महानगरपालिका वडा नं. १४ सुन्दरबस्तीमा बस्दै आएका किरण पौडेलले  सुकुमबासी, भूमिहीन किसानहरूको माग हालसम्म पूरा नभएको गुनासो गरेका थिए । भीमसेननगरका लालपूर्जाबिहीन भीमलाल विकले जग्गा धनी पूर्जासहित गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारीको व्यवस्था गर्न माग गरेका थिए ।
 
उनीहरुको जवाफमा प्रचण्डले भने, ‘मै हो, तपाईंहरूलाई २०३६ सालमा जग्गा वितरण गर्ने कार्यक्रममा अगुवाइ गर्ने नेता । तपाईंहरुलाई याद छ कि छैन ? मलाई थाहा छ, तपाईंहरूलाई जग्गा उपलब्ध गराएको मैले नै हो ।’ 
 
मतदातालाई आश्वासन दिँदै उनले थपे– ‘तपाईंहरुले धनी पूर्जा पाउनुभएको छैन । अब ढुक्क हुनूस् तपाईंहरूले पूर्जा पाउनुहुन्छ ।’ 
 
हिजोका दिनमा कसकसले आश्वासनमात्र दिए, त्यो आफूलाई थाहा नभएको बताउँदै प्रचण्डले भने, ‘अब आश्वासनमात्र होइन, पक्का पाउनुहुन्छ । त्यसको लागि मलाई क्षेत्र नम्बर ३ ले देशकै नेतृत्व गर्न सक्ने ठाउँमा पु¥याउनुपर्छ ।’
 
पूर्वप्रधानमन्त्री दाहालले सुकुमबासीहरूलाई जग्गा, शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्थाका लागि यसपटक वामपन्थीहरूको बहुमतको सरकार आवश्यक पर्ने भन्दै त्यसको लागि सम्पूर्ण वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।