मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्डको प्रोपोगान्डा : ‘देशी–विदेशी शक्तिहरु वाम एकताका बाधक’

प्रचण्डको प्रोपोगान्डा : ‘देशी–विदेशी शक्तिहरु वाम एकताका बाधक’


चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशीविदेशी शक्तिहरु वाम एकता भत्काउन लागिपरेको आरोप लगाएका छन् । 
 
वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले वाम गठबन्धन भत्काउन ठूलै शक्ति लागेको भन्दै कार्यकर्ता तथा मतदातालाई सचेत बन्न आग्रह गरेका थिए । काठमाडौंमा वाम गठबन्धनको घोषणापत्र सार्वजनिक गरेपश्चात् भरतपुर आएका प्रचण्डले चुनावी प्रोपोगान्डाका रुपमा उक्त भनाइ सार्वजनिक गरेका हुन् । 
 
वाम गठबन्धनको संयुक्त महिला भेलालाई सम्बोधन गर्दै उनले वाम एकता कसैले चाहँदैमा झिसमिस नहुने बताए । उनले थपे, ‘१० दिनमात्र निर्वाचन पछि सरेको भए एमालेसँग पार्टी एकता नै भइसक्ने थियो । कसैले चियाउनै पाउने थिएनन् ।’ उनले पार्टी एकता गर्न अब ढिलो गर्न नहुनेतर्फ संकेत गर्दै भने । 
 
‘देशी विदेशी शक्तिहरु पार्टी एकता हुन दिन खोजिरहेका छैनन्, त्यसैले पार्टी एकता हुन नदिनेविरुद्ध पार्टी नेतृत्व, आम कार्यकर्ता र सम्पूर्ण मतदाता चनाखो हुने बेला आएको छ’ उनले भने, ‘जसरी वाम गठबन्धनसँग तालमेल गरेर सबैलाई सरप्राइज दियौँ, त्यसरी नै पार्टी एकता गरेर सरप्राइज दिन्छौँ ।’ 
 
उनले चुनावलगत्तै एमालेसँग पार्टी एकता हुने जिकिर गरे । उनले भने, ‘ओलीजीसँग कुरा गरेर पार्टी एकतालाई छिट्टै टुङ्गो लगाइन्छ ।’ अध्यक्ष प्रचण्डले पार्टी एकतालाई कुनै शंका नगर्न अनुरोध गरे । उनले भने, ‘यो गठबन्धन कसैलाई चुनावसम्म मात्र हो भन्ने शंका छ, त्यो हटाइदिनुस् । 
 
यो गठबन्धन बनेको पार्टी एकताकै लागि हो । कम्युनिस्टहरुको हातमा डाडुपन्यू ल्याउनलाई नै गरिएको हो ।’ उनले एमालेसँगको पार्टी एकतालाई अब कसैले रोक्न नसक्ने चुनौती पनि दिएका थिए ।
 
‘कार्यगत असन्तुष्टि, विचारधारा र टिकट वितरणको असन्तुष्टिलाई ‘क्यास’ गरेर केही देशी–विदेशी शक्तिहरुले वाम गठबन्धन र पार्टी एकतालाई भत्काउन लागे पनि उनीहरुको केही नचल्ने उनको भनाइ थियो । नेपालबाट समाजवादको नयाँ मोडल संसारभर फैलाउने उद्देश्यले पार्टी एक भएको उनले बताए ।