मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन १ मा सुरेन्द्र र राजेन्द्रको लडाइँ

चितवन १ मा सुरेन्द्र र राजेन्द्रको लडाइँ


चितवन– चितवनको क्षेत्र नं १ मा प्रतिनिधिसभाका दुई उम्मेदवारबीच कडा टक्कर चलेको छ । वाम गठबन्धनका सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनका राजेन्द्रप्रसाद बुर्लाकोटीबीच तीव्र प्रतिस्पर्धा चलेको हो । उनीहरु दुवैले आफ्नो आधार क्षेत्र भएकाले जित्ने दाबी गरेका छन् । 
 
वाम गठबन्धनले चितवन क्षेत्र नम्बर–१ लाई आफ्नो आधार इलाका भन्दै आएको छ । लोकतान्त्रिक गठबन्धनले क्षेत्र–१ कसैको आधार इलाका नभएको र विपक्षीले मानेको आधार इलाका यसपटक भत्किने दाबी गरेको छ । 
 
चितवन क्षेत्र नम्बर–१ मा वाम गठबन्धनबाट पूर्वअर्थमन्त्री पाण्डे उम्मेदवार भएका छन् । सुरेन्द्र विरुद्ध लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रभावशाली नेता बुर्लाकोटी चुनावी मैदानमा छन् । सुरेन्द्र पाण्डे नेकपा एमालेका स्थायी समिति सदस्यसमेत हुन् । उनी माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा १८ महिना अर्थमन्त्री भएका थिए । 
 
नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । संविधानसभाको दोस्रो चुनाव २०७० मा चितवन क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे र राजेन्द्र बुर्लाकोटी नै चुनावी मैदानमा थिए । त्यतिबेला सुरेन्द्र पाण्डेसँग राजेन्द्र बुर्लाकाटी तीन हजार ४९ मतले पराजित भएका थिए । यसपटक फेरि चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनले सुरेन्द्रलाई र लोकतान्त्रिकले राजेन्द्रलाई नै चुनावी मैदानमा उतारेका छन् । यसपटक क्षेत्र नम्बर १ मा रत्ननगर नगरपालिका पनि गाभिएको छ । 
 
स्थानीय तहको चुनावलाई हर्ने हो भने चितवन क्षेत्र नम्बर १ मा परेका तीन नगरपालिकामा (रत्ननगर, खैरहनी, राप्ती) नेकपा
एमालेले जितेको ठाउँ हो । त्यसैले पनि एमालेले यस क्षेत्रलाई आफ्नो आधार इलाका भन्दै आएको छ । 
 
‘चितवन क्षेत्र नम्बर–१ कसैको गढ होइन, कसैको पेवा होइन । यदि कसैले यसलाई आफ्नो गढ मान्छ भने यसपटक भत्कन्छ’ चितवन क्षेत्र नम्बर–१ का उम्मेदवार राजेन्द्र बुर्लाकोटीले भने । उनी यतिबेला चितवन क्षेत्र नम्बर–१ को घरदैलो कार्यक्रममा व्यस्त छन् । बुर्लाकोटी यसपटक एमालेको आधार इलाका तोड्ने दाउमा छन् । 
 
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे क्षेत्र एकलाई यसपटक पनि वाममय बनाउने बताउँछन् । उनी पनि घरदैलो तथा चुनावी सभाहरुमा तीव्र रुपमा लागेका छन् । ‘म अर्थमन्त्री हुँदा मेरो क्षेत्र नम्बर–१ मा दुई अर्बभन्दा बढीको विकास बजेट पारेको छु । भित्रभित्रका बाटो कालोपत्रे गरेको छु । विकास गर्ने नेतालाई जनताले जिताउँछन् कि, अरुलाई ? अवश्य विकास गर्ने सुरेन्द्र पाण्डेलाई नै चितवन १ का जनताले जिताउँछन् ।’
 
यसपटक पनि चितवन क्षेत्र नम्बर–१ मा सुरेन्द्र भर्सेज राजेन्द्र हुने भएको छ । राजेन्द्र बुर्लाकोटी २०३७ सालदेखि नेपाली कांग्रेसमा निरन्तर लागेका नेता हुन् । उनी सामाजिक अभियन्ता पनि हुन् । उनी सो क्षेत्रमा चर्चित व्यवसायीको रुपमा पनि चिनिन्छन् । 
 
पटकपटक जेलजीवन भोगेका राजेन्द्र बुर्लाकोटी पञ्चायतविरुद्धको आन्दोलनदेखि जनआन्दोलनसम्म सशक्तरुपमा कांग्रेसमा लागेका नेता हुन् । विभिन्न सामाजिक संस्थामा आबद्ध भएका बुर्लाकोटी २०५१ देखि नेपाली कांग्रेसको महासमिति सदस्यमा रहेका छन् । 
 
सुरेन्द्र र राजेन्द्र दुवै नेताले चितवन क्षेत्र नम्बर १ मा जित्ने दाबी गरेका छन् । ‘म पराजित हुँदा पनि जनताको साथमा रहेको छु । ६ महिनामा भत्कने कालोपत्रे बनाउनेलाई यसपटक विश्वास गर्दैनन् । यसपटक म ५० हजार मत ल्याएर विजयी हुन्छु’ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले भने । उनले आफ्नो पक्षमा जनलहर आएको बताए । 
 
सुरेन्द्र पाण्डे पनि विकासको आधारमा जनताले आफूलाई जिताउने बताउँछन् । उनले भने, ‘चितवन–१ मा कसले काम गरेको छ, त्यो जनताले देखेका छन् र जनताले कसलाई जिताउँछन् २१ गतेको चुनावपछि आउने परिणामले देखाइदिने छ ।’ उनी क्षेत्र नम्बर १ को कुल मतदाताको दुई तिहाइभन्दा बढी मत आफूलाई आउने दाबी गर्छन् ।
 
चितवन क्षेत्र नम्बर १ मा ३ स्थानीय तहहरु समेटिएको छ । यसमा पहिलोको निर्वाचन क्षेत्र नं २ का अधिकांश भूभाग समेत पर्छन् । गएको स्थानीय तहको निर्वाचनमा यी ३ वटै स्थानीय तहमा एमालेले बहुमत सदस्यसहित मेयर र उपमेयर जितेको छ । यस आधारले पनि यो क्षेत्रलाई एमालेका आधार इलाका भनिएको छ । तर, त्यस्ता आधार इलाका यस पटक सजिलै भत्काइने कांग्रेसका जिल्ला सचिव उत्तम जोशीले दाबी गरे । 
 
स्थानीय तहको निर्वाचनमा दलका वडा अध्यक्षहरुले पाएको मतलाई विश्लेषण गर्दा वाम गठबन्धन नै बलियो देखिन्छ । तर, त्यसलाई मात्र हेरेर नहुने र यसपटक आफूले नै जित्ने दाबी गर्छन् बुर्लाकोटी । 
 
स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनको मत ४४ हजार ६७४ छ । लोकतान्त्रिक गठबन्धनको कुल ३२ हजार ११० मत छ । लोकतान्त्रिक गठबन्धनभन्दा वामगठबन्धनको मत धेरै देखिएको छ । क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाताले मताधिकार प्रयोग गर्ने छन् । ‘स्थानीय तहको मतलाई हेरेर हुँदैन, यस पटक मैले ५० हजार मत ल्याएर विजयी हुन्छु’ क्षेत्र १ का उम्मेदवार बुर्लाकोटीले बताए ।