-केशव भट्टराई / हिमालय खबर
चितवन– चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार एवम् वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनता ढाँट्ने काम बन्द गर्न आग्रह गरेका छन् ।
पहिलोपटक चितवनबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका अध्यक्ष दाहालले हावादारी भाषणले कुनै पनि हालतमा चुनाव जित्न नसक्ने दाबी गरे । केही दिनअघि माडीमा भएको सभामा सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले माडीमा आकाशे पुल र राट्रिय निकुञ्जमा सुरूङ मार्ग बनाइदिन्छु भनेर आश्वासन दिएका थिए ।
यही भनाइलाई खण्डन गर्दै राप्रपा प्रजातान्त्रिकका उपाध्यक्षसमेत रहेका मन्त्री पाण्डेले बोली र व्यवहारमा धेरै अन्तर भएको बताए । ‘भाषण होइन, चितवनका जनतालाई विकास चाहिएको छ,’ मंगलबार भरतपुरमा भएको छुट्टाछुट्टै कार्यक्रममा बोल्दै मन्त्री पाण्डे भने, ‘विकास गर्ने क्षमता प्रचण्डजीसँग छैन । उहाँलाई भाषण दिनमात्रै आउँछ ।’
माडीमा आकाशे पुल र सुरूङ मार्ग बनाउन सम्भव नरहेको उनले प्रष्ट पारे । ‘माडीमा आकाशे पुल बनाउँछु भन्नु आकाशकै कुरा हो,’ उनले भने, ‘सुरूङ मार्ग पनि अहिलेलाई सम्भव छैन । किनकि यहाँ सुरूङ मार्ग बनाउने बजेटले समग्र नारायणी अञ्चलकै विकास गर्न पुग्छ । त्यो सम्भव छैन ।’
आफूलाई प्रचण्डले कि राजनीति छोड्नुस्, कि ठेक्कापट्टा छोड्नुस् भनेको भनाइतर्फ इंगित गर्दै मन्त्री पाण्डेले भने, ‘तपाईँ ढाँट्न छोड्नुस् मैले ठेक्का पट्टा गर्न छाडेको १० वर्ष भइसक्यो ।’
उनले प्रचण्डलाई आफू निर्वाचित क्षेत्रको विकास निर्माणको प्रमाण देखाउनसमेत चुनौती दिए । उनले भने, ‘प्रचण्डजीले आफू निर्वाचित क्षेत्रमा कत्तिको विकास गर्नुभयो चितवनवासीलाई प्रमाण देखाउनुस् । होइन भने अर्को पटक कुनै पनि जिल्लाबाट उम्मेदवार बन्न पाउने हैसियत नहुन सक्छ ।’
बरू माडीवासीले एक वर्षभित्रमा चितवन राष्ट्रिय निकुञ्जभित्र पिच बाटोमा हिँड्न पाउने दाबी गरे । ‘प्रचण्डले कहिलदेखि सुरूङमार्ग बनाउनुहुन्छ थाहा छैन । तर, मचाहिँ एक वर्षभित्रै चितवन राष्ट्रिय निकुञ्जको बाटो पिच गर्दैछु,’ उनले भने ।
रोल्पा र सिराहका जनतालाई जस्तो झुटो आश्वासन चितवनका जनतालाई सह्य नहुने उनको भनाइ छ । आफूले उम्मेदवारी दिएर जितेका स्थानमा केही गर्न नसकेकोले गोहीको आँशु चुहाउँदै चितवन आउनुपरेको उनले बताए । प्रचण्डको खेल चितवनको स्थानीय तह निर्वाचनमै छर्लङ्ग भइसकेको उनले बताए ।
चुनावताका मतदाता फकाउनका लागि मात्रै जनतासमक्ष पुगेर नहुने भन्दै आफूले विगत २० वर्षदेखि चितवनको जनताको पक्षमा काम गरिरहेको प्रष्ट पारे । ‘मलाई कुनै चिन्ता छैन । किनकि चुनाव जिते पनि नजिते पनि मेरो काम भनेको चितवनको विकास गर्नु हो,’ उनले भने, ‘भोलिका निर्वाचनमा अरू जिल्ला गएर प्रचण्डजी जस्तो टुरिष्ट उम्मेदवार बन्नु छैन मलाई ।’
प्रतिक्रिया