मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसलाई कसैले हल्लाउन सक्दैन : महामन्त्री कोइराला

कांग्रेसलाई कसैले हल्लाउन सक्दैन : महामन्त्री कोइराला


हिमालय खबर संवाददाता–
नवलपरासी– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेसको विजयलाई अब कसैले रोक्न नसक्ने बताएका छन् । काँग्रेस जस्तोसुकै नीति अपनाएर पनि निर्वाचन आफ्नो पोल्टामा पार्न सक्षम हुने कोइरालाको दाबी छ ।
 
नेपाली काँग्रेस क्षेत्र नं १ नवलपरासीले आइतबार दलदलेमा आयोजना गरेको पार्टी प्रचारप्रसार तथा अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै महामन्त्री डा कोइरालाले सो विचार व्यक्त गरेका हुन् । 
 
डा कोइरालाले नेपाली काँग्रेसलाई सिध्याउने खेलमा वाम गठबन्धन लागे पनि त्यसले काँग्रेसलाई बेफाइदा होइन, थप मजबुत र उत्साह थपेकाले काँग्रेस पहिलो शक्ति भएर छाडने ठोकुवा गरे । 
 
कार्यकर्ताहरुलाई सम्बोधन गर्दै डा कोइरालाले काँग्रेस कहिल्यै विचलित नहुने पार्टी भएकाले यसलाई कसैले सिध्याउँछु भनेर लागे पनि यो कहिल्यै नसकिने र नेपालमा यसले आफनो इतिहास राख्न सफल भएको र कसैले हल्लाउन नसक्ने स्पष्ट पारे । 
 
काँग्रेस वाम गठबन्धनका कारण चुनाव हार्छ भनेर हल्ला फिंजाएर मजा चाख्नेहरु अहिले हाम्रो समाजमा व्याप्त रहेकाले त्यो हल्लाको पछि नलागी एक भएर काँग्रेस जिताउन जनताका माझ होमिन कोइरालाले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
 
उनले मुलुकमा लोकतान्त्रिक र वामपन्थी गठबन्धनबीच प्रतिस्पर्धा रहे पनि काँग्रेस नेतृत्वको गठबन्धनले यो चुनावमा स्पष्ट जीत हात पार्ने बताए ।
 
अहिले बजारमा कामभन्दा कुरा बढी गरेर वाम एकताका नाममा देखाइएको कथित एकताले काँग्रेसलाई थप उर्जा मिलेको उनले बताए । काँग्रेसले यस निर्वाचनलाई जीवनमरणको विषय बनाएकाले कुनै पनि काँग्रेसका कार्यकर्ताले गलत गर्न नहुने र सशक्तरुपमा प्रचारप्रसारमा लागेर जनतालाई राम्रोसँग बुझाउन उनले वर्गीय संगठनहरुलाई निर्देशन दिए । 
 
नवलपरासीको बर्दघाट सुस्तापूर्वको क्षेत्र नं १ का उम्मेदवारसमेत रहेका डा कोइरालाले वामपन्थीका कथित एकताले काँग्रेसलाई नाफा हुने दाबी गर्दै यसले काँग्रेसभित्र भएका सबै असन्तुष्ट समाप्त भई पार्टी एकढिक्का भएको र अब काँग्रेसलाई हराउन कसैले पनि नसक्ने जिकिर गरे । 
 
अहिले राजनीतिक दलभित्र तीव्र धु्रव्रीकरण भए पनि काग्रेंस बलियो शक्ति भएको र यसले काँग्रेसभित्र थप एकता र संगठित हुने अवसर दिएको बताए ।
 
महामन्त्री डा कोइरालाले बीपीको सपना साकार पार्न र गरीबको झुपडीबाट विकासको अगुवाइ गर्न काँग्रेसमात्र सही पार्टी भएको जिकिर गरे ।
 
उनले भने– ‘साम्यवाद रोजेर पाएका सबै उपलब्धिको अन्त्य गर्ने कि लोकतन्त्रको रक्षा गरी मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने फैसला गर्ने बेला अब नेपाली जनतामा आएको छ । त्यसैले लोकतन्त्रको उपलब्धि हासिल गर्न गम्भीर भएर एकढिक्काका साथ काँग्रेस जिताउन लाग्नुपर्छ ।’