मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मिर्गौला प्रत्यारोपणमा नेपालको उल्लेखनीय सफलता (अन्तरबार्ता सहित)

मिर्गौला प्रत्यारोपणमा नेपालको उल्लेखनीय सफलता (अन्तरबार्ता सहित)


हिमालयखवर संवाददाता
टेक्सस(अमेरिका)-  एउटा मानिसले एकचित्त लगाएर काम गर्ने हो भने कतिसम्म गर्न सक्ने रहेछ भन्ने कुराको सफल उदाहरण बनेका छन् डा. पुकारचन्द्र श्रेष्ठ । हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यकारी निर्देशकक रहेका डा. श्रेष्ठ नेपालको सफल र चर्चित मिर्गाैला र कलेजो प्रत्यारोपण गर्ने चिकित्सक हुन् । 
 
विगत केही वर्षदेखि नेपालमा मानव अंग प्रत्यारोपणसम्बन्धी निकाय स्थापना र सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा. श्रेष्ठले यति छिट्टै अहिलेको अवस्थामा मानव अंग प्रत्यारोपण केन्द्रलाई सफल बनाउन सकिन्छ भन्ने सायदै सोचेका थिए । बागलुङमा जन्मिएर त्यहीबाट विद्यालय जीवन पूरा गरेका यिनले काठमाडौं र बेलायतमा चिकित्साशास्त्र अध्ययन गरेका हुन् । 
 
नेपालका डाक्टरले काठमाडौंभन्दा मुलुकका विभिन्न भागमा गएर काम गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी सरुवा मागी लुम्बिनी अञ्चल अस्पताल बुटवल पुगे । ‘काठमाडौंमा त धेरै डाक्टर छन्, त्यसैले बाहिर गएर काम गर्छु भन्ने ठानेर मैले बुटबल रोजेँ र त्यही गएर काम गर्न थालेँ’, उनले बताए । बुटबल पुगेपछि आफूले किशोर किशोरी र २०–३० वर्षका धेरै युवायुवती मिर्गाैला, कलेजो, मुटुलगायतका अंग असफल भई मरेको घटना मूकदर्शक हुनुपरेको उनी सुनाउँछन् । ‘त्यतिबेला नेपालमा अंग प्रत्यारोपण गर्ने चिकित्सक, कानुन, जनचेतना केही पनि थिएन, तैपनि नेपालको स्वास्थ्यक्षेत्रको यो विकराल समस्याले मलाई सताइरह्यो । यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्यो ।’ 
 
यसै क्रममा उनले मिर्गौला प्रत्यारोपणको ६ हप्ते अवलोकनका लागि बेलायतबाट जाने मौका पाए । त्यस क्रममा आफूले त्यहाँ उनीहरूको अनुसन्धानमा सहयोग गरेकाले नेपाल फर्किएपछि सन् २००० मा बेलायतमै यस सम्बन्धी थप अध्ययनका लागि छात्रवृत्ति प्राप्त भएको उनी बताउँछन् । बेलायतमा मिर्गौला र कलेजो प्रत्यारोपणसम्बन्धी ६ वर्षको अध्ययन गरेका उनी त्यहीँ माथिल्लो तह रहेर काम गरेको बताउँछन् । ‘६ वर्षे अध्ययन र अनुसन्धानका क्रममा मैले बेलायतमा सिनियर पोजिसनमा काम गर्ने अवसर पाए पनि यहाँ सिकेको ज्ञान र दक्षतालाई आफ्नै देशमा उपयोग गर्छु भनी म नेपाल फर्किएँ,’ उनले सुनाए । 
 
प्रत्येक वर्ष कम्तीमा मिर्गाैला र कलेजोसम्बन्धी रोगका विषयमा विश्वमा भएका नवीनतम अनुसन्धान बारे जानकारी लिन र आफूलाई पुनर्ताजगी गर्न विदेश भ्रमण गर्ने श्रेष्ठले यस पटक अमेरिका आएको बताए । ‘कलेजो रोगसम्बन्धी संसारकै सबैभन्दा ठूलो सम्मेलन टेक्ससमा आयोजना भएकाले त्यसमा भाग लिन यहाँ आएको हुँ । यहाँ सिकेको ज्ञानले नेपालकै लागि काम लाग्छ भन्ने ठानेको छु’, टेक्ससको ड्यालासमा हिमालय खबरसँगको स‌वादमा उनले बताए ।
 
बेलायतबाट मिर्गौला र कलेजो प्रत्यारोपणसम्बन्धी उच्च अध्ययन सकेर नेपाल आएका श्रेष्ठ सुरुवाती दिन अन्योलग्रस्त बने । जनचेतना, जनशक्ति, कानुन केही पनि नभएको अवस्था एकातर्फ थियो भने अर्कातर्फ यिनै रोगबाट पीडित भएर मरेका मानिसका परिवारले झेलेका विपत्ति । काम कहाँबाट थाल्ने ? यो प्रश्न यिनका मनमा खेलिरह्यो । 
 
धनीहरू गरिबको अंग किनेर भए पनि विदेशमा महँगो उपचार गरेर फर्किएका र गरिबहरू आर्थिक अभावमा पिल्सिएर मृत्यु वरण गर्नुपर्ने । ‘गरिबले उपचार गर्न नसक्ने, धनीले आफूलाई विश्वास नगरी विदेशी मुलुकमा गएर उपचार गराउने, मुलुकमा मानव अंग प्रत्यारोपणसम्बन्धी कानुन पनि छैन । यस्तो अवस्थामा काम गर्न निकै कठिन थियो’, उनले सुनाए । ‘यस्तो अवस्थामा मुलुकका विभिन्न क्षेत्रका प्रबसद्ध मानिसको एउटा समूह बनाएर बहुपक्षीय रूपमा काम गर्न सुरु गर्न थालेँ,’ उनले विगत सझिए ।
 
धार्मिक र परम्परागत मान्यताबाट हुर्किएका मानिसलाई अंग दान गर्न प्रेरित गर्नु कम गाह्रो काम थिएन । यसका लागि उनले आनी छोइङ डोल्मा, मह जोडीलगायतका व्यक्तित्व अघि सारेर आरोग्य प्रतिष्ठानमार्फत अभियान सुरु गरे । कहिले सरकारलाई नीतिनिर्माण गर्न अनुरोध गर्ने, कहिले सुविधासम्पन्न अस्पतालका लागि दबाब दिने काम गरे । 
 
कतिसम्म भने आफू सरकारी कर्मचारी भए पनि आन्दोलनरत मिर्गौलापीडितलाई भित्रभित्रै सहयोग गरे । पछि सरकारले उनीहरूलाई वार्तामा बोलाएपछि मिर्गौलापीडितका समस्या समाधान गर्न सरकारले सहजकर्ता नियुक्त गरेकाले उनीहरूको पक्षमा काम गर्न सहज भयो । ‘रत्नपार्कमा असार÷साउनमा भोकहड्तालमा बसेका मिर्गौलापीडित आन्दोलनकालीलाई आरोग्य प्रतिष्ठानमार्फत मैले सयोग गरेँ । पछि उनीहरूलाई सरकारले वार्तामा बोलाएपछि सहजकर्ताको भूमिका निर्वाह गरेर पनि मिर्गौलापीडितको पक्षमा काम गरेँ’, उनले भने ।
 
नेपाल सरकारले आफ्नो अभियानलाई पूर्ण सहयोग गरेकै कारण अहिले नेपालमा मिर्गौला डायलासिस र प्रत्यारोपण निःशुल्क भएको उनले जानकारी दिए । ‘हामी यसैका लागि पचास पटक संसदीय समितिमा पुग्यौं,’ उनले विगत सम्झिए । ‘हाम्रो मागअनुसार नै सरकारले डायलासिस र यस वर्षदेखि प्रत्यारोपण पूर्ण निःशुल्क गरेको छ, संसारकै उत्कृष्ठ मानव अंग प्रत्यारोपण कानुन बनेको छ । 
 
अत्याधुनिक उपकरणसहितको मानव अंग प्रत्यारोपण केन्द्र खुलेको छ । अब नेपालमा कुनै नेपालीले मिर्गाैला रोगबाट मर्नुपर्ने छैन,’ उनले खुसी हुँदै सुनाए । उनले भने, ‘अहिले हामी अत्याधुनिक उपकरणसहित नेपालमा विश्वकै उत्कृष्ठ सेवा दिन सफल भएका छौं । यसैको फलस्वरूप अहिले नेपालमा विदेशबाट मिर्गौला प्रत्यारोपण गर्न आउन थालेका छन् ।’ उनले चार सय ५० भन्दा बढी मिर्गौला प्रत्यारोपण गरेको र संसारकै उत्कृष्ठ अस्पतालमा दिने सेवा नेपालमै दिने गरिएको उनले दाबी गरे । ‘उनले भने, ‘हाम्रो सेवा मात्र होइन, प्रत्यारोपणको सफलता प्रतिशत पनि उत्कृष्ठ छ । हाम्रो प्रत्यारोपण दरको सपःलता पनि ९७ प्रतिशतभन्दा बढी छ ।’
 
अन्तिम अवस्थामा पुगेपछि मात्र मिर्गौला रोग लागेको थाहा पाइने र यसको उपचार अत्यन्त महँगो हुने भएकाले बेलैमा यसप्रति सचेत हुन उनी आग्रह गर्दछन् । स्वस्थ खाना खाने, मद्यपान नगर्ने, प्रसस्त पानी पिउने, बढी चिल्लो तथा नुन सेवन नगर्ने, ब्रुफिन लगायतका एन्टिबायोटिक औषधी जथाभावी सेवन नगर्ने, नियमित व्यायाम वा सक्रिय जीवन बिताउने र उच्च रक्तचाप तथा मधुमेह (डाइबिटिज) रोगबाट बच्न सके ९० प्रतिशत मिर्गौला, मुटु तथा कलेजो रोगबाट बच्न सकिने उनको सल्लाह छ । उनी वर्षमा कम्तीमा एक पटक मिर्गौला परीक्षण गर्न पनि सल्लाह दिन्छन् । 
 
मिर्गौला प्रत्यारोपणमा सफलता हासिल गर्दै गएपछि यतिबेला डा. पुकारचन्द्र श्रेष्ठ मानव अंग प्रत्यारोपणसम्बन्धी कार्य मुलुकका सातै क्षेत्रमा विस्तार गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने र नेपालमै कलेजो प्रत्यारोपण गर्ने अभियानमा लागेका छन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरलाई सुविधासम्पन्न गराएर त्यहीँ कलेजो प्रत्यारोपण गर्न सकिने उनी बताउँछन् । ‘नेपालमा दुई वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेका छौं । कलेजो प्रत्यारोपण पूर्णरूपमा सफल भएको छ । यसबाट हामी उत्साहित भएका छौं,’ उनले खुसी हुँदै भने । उनका अनुसार भारतमा एकदेखि डेढ करोड रुपैयाँमा कलेजो प्रत्यारोपणमा खर्च हुने गरे पनि नेपालमा २२ लाख रुपैयाँमा प्रत्यारोपण गरिएको जानकारी दिए । 
 
जतिसुकै राम्रो कानुन, सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति भए पनि अंग दान गर्ने दाता नभएसम्म यस क्षेत्रमा उल्लेख्य प्रगति हुन नसक्ने उनी बताउँछन् । ‘त्यसैले हामीमा सम्पूर्ण जनतामा जनचेतना जगाउनुपर्ने अवस्था छ । दाताबाट अंग प्राप्त नहोउन्जेल प्रत्यारोपणमा समस्या भइरहन्छ,’ उनले भने । उनका अनुसार नेपालमा दैनिक ६ जनाको दुर्घटनाबाट मस्तिष्क मृत्यु हुने गरेको र उनीहरूबाट अंग प्राप्त हुन सके अंग प्रत्यारोपणमा पूर्ण सफलता पाइने र मानव अंगमा आत्मनिर्भर हुन सकिन्छ । 
 
मस्तिष्क मृत्यु भएर भेन्टिलेटरमा राखिएको एउटा बिरामीबाट दुईवटा फोक्सो, दुई मिर्गौला, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रालगायतका अंग निकाल्न सकिने जानकारी दिँदै डा. श्रेष्ठले भने, ‘एउटा दाताबाट प्राप्त अंगले आठ जना बिरामी बचाउन सकिन्छ । यस्तो अंग दानका लागि समाजका सबैले सहयोग अपरिहार्य छ ।’
 
स्वस्थ खाना खाने, मद्यपान नगर्ने, प्रसस्त पानी पिउने, बढी चिल्लो तथा नुन सेवन नगर्ने, ब्रुफिन लगायतका एन्टिबायोटिक औषधी जथाभावी सेवन नगर्ने, नियमित व्यायाम वा सक्रिय जीवन बिताउने र उच्च रक्तचाप तथा मधुमेह (डाइबिटिज) रोगबाट बच्न सके ९० प्रतिशत मिर्गौला, मुटु तथा कलेजो रोगबाट बच्न सकिने ।