मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्डलाई देवी ज्ञवालीले काँध थाप्ने

प्रचण्डलाई देवी ज्ञवालीले काँध थाप्ने


चितवन – भरतपुर महानगरमा स्थानीय तह चुनावमा प्रचण्डपुत्री रेणु दाहालसँग चुनावी भिडन्तदेखि नै चर्चामा रहँदै आएका देवी ज्ञवालीले अन्ततः पुष्पकमल दाहाल ‘प्रचण्ड’को इज्जत जोगाउने जिम्मा लिएका छन् । 
 
भरतपुर महानगरमा प्रचण्डपुत्रीले मेयरमा हार्ने निश्चित भएपछि मतपत्र च्यातिएको थियो । चुनावी परिणाम ज्ञवालीकै पक्षमा देखिए पनि पुनःमतदानबाट मेयर पद रेणु दाहालको पोल्टामा गएको थियो । 
 
चुनावी प्रतिस्पर्धादेखि नै मेरो लडाइँ रेणुसँग होइन, प्रचण्डसँग हो भनेर कुर्लिएका देवी अन्ततः पराजित हुनुप¥यो । तर, हारेर पनि उनले जिते । निर्वाचनभर उनी चर्चामै रहिरहे । उनीप्रति सहानुभूति र सद्भाव कायमै थियो । 
 
तर, राजनीतिले एक्कासि यूटर्न लियो । आफैँलाई हराउन साम, दाम, दण्ड र भेदको नीति लिने उनै प्रचण्डको काँध थाप्न देवी ज्ञवाली तयार भए ।   
 
वाम गठबन्धनअगावै प्रचण्डले चितवन क्षेत्र ३ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । वाम गठबन्धनपश्चात् पनि क्षेत्र नं ३ मा एमाले कार्यकर्ता रुष्ट बनिरहेको सन्दर्भमा उनै ज्ञवालीले मंगलबार केपी ओली निवास बालकोटमा प्रचण्डसँग भेटवार्ता गरे । 
 
प्रचण्डपुत्र प्रकाशले ओली निवासमा ज्ञवालीसहितको फोटो फेसबुकमा अपलोड गरेपछि उनै देवी फेरि चर्चामा छन् । वाम गठबन्धनको समाचार बाहिरिएसँगै ज्ञवाली सक्रिय राजनीतिबाट टाढा रहने भनी केही अनलाइनले समाचार प्रकाशन गरेका थिए । क्षेत्र नं ३ मा ज्ञवाली प्रचण्डको बाधक बन्न सक्ने संभावना अन्त्य गर्दै ओलीले प्रचण्डसँग भेटघाट जुराएका हुन् । 
 
उसो त ज्ञवालीले वाम गठबन्धनको स्वागत गरेका थिए । सामाजिक सञ्जालमा आएका सवालको जवाफ ज्ञवालीले फेसबुकबाटै दिएका थिए । 
 
ज्ञवालीको फेसबुक स्टाटस
 
ओलीलाई भेट्न राजधानी जाँदै गर्दा बाटोमै ज्ञवालीले एउटा स्टाटस सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे । दुई दिनअघि लेखिएको उक्त स्टाटसमा उनले आफू पार्टीको इमान्दार सिपाही भएकाले पार्टी निर्णयअनुसार हिँड्न तयार रहेको र प्रचण्डलाई चितवनमा स्वागत गरी जिताउनसमेत आफू अग्रपंक्तिमा रहने भनेपछि उनको चर्चा फेरि चुलियो ।  
 
उनले स्टाटसमा लेखेका छन्, ‘देश, जनताको हितमा हुने कनै पनि सकारात्मक कामलाई व्यक्तिगत लाभहानिसँग जोड्ने काम देवी ज्ञवालीबाट हुँदैन । ‘चितवनमा पुष्पकमल आउनुहुन्छ भने उहाँलाई जिताएर पठाउने दायित्व हाम्रो काँधमा आउनेछ र उक्त जिम्मेवारी हामीले पूरा गरेरै छोड्छौँ ।’  
 
बिर्संदै महानगरको पीडा 
 
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाबाट एमालेको उम्मेदवार बनेका देवी ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चितवनबाट विजयी गराउनु आफ्नो जिम्मेवारी भएको बताएका छन् । 
 
एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका उनलाई प्रचण्डले समेत भेटेका छन् । बुधबार ओलीलाई भेट्न बालकोट पुगेका ज्ञवाली र  सोही समयमा ओली निवास पुगेका प्रचण्डबीच पनि भेटवार्ता भएको थियो । 
 
बालकोटमा ओली–ज्ञवाली तथा ओली–प्रचण्ड र ज्ञवालीबीच छुट्टाछुट्टै भेटवार्ता भएको एमाले जिल्ला नेता रामप्रसाद न्यौपानेले बताए । 
 
भेट वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर–३ को उम्मेदवार बन्ने तयारीमा रहेका प्रचण्डलाई जिताउने विषयमा छलफल केन्द्रित भएको उनले बताए ।
 
ज्ञवाली भेटेपछि प्रचण्ड मख्ख
 
चितवन क्षेत्र नं ३ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्ने पक्का भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ज्ञवालीसँगको भेटपछि आफू ढुक्क भएको प्रतिक्रिया दिएको भेटमा सहभागी नेता रामप्रसाद न्यौपानेले बताए । 
 
सामाजिक सञ्जाल र अनलाइन समाचार माध्यममा आएका सबै कुरा भ्रममात्र भएको ज्ञवालीले विश्वास दिलाउनुका साथै चुनावी अभियानमा अग्रपंक्तिमा रहेर सहयोग गर्ने वचन दिएपछि प्रचण्ड मख्ख भएका छन् ।