काठमाडौँ – मनाङको प्रदेशको क्षेत्र नम्बर २ बाट दीपक मनाङ्गेले प्रतिनिधिसभाको उम्मेदवारी दिएपछि एमाले उम्मेदवार खण्डा लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् ।
एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङ्गेलाई सघाउने भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार खण्डा लामाले उम्मेदवारी फिर्ता लिएको पुष्टि गरेका छन् । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङ्गेलाई सर्वत्र विरोध भएपछि केन्द्रले उनको नाम काटेको थियो ।
तर, मनाङका जनताले आफूलाई जिताउने भन्दै दीपकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि एमाले हच्किएको थियो । अब एमालेका आधिकारिक उम्मेदवार खण्डा लामाले स्वतन्त्र उम्मेदवार मनाङ्गेलाई सघाउने र केन्द्रमा उनका समर्थकले एमालेलाई सघाउने भएका छन् ।
मनाङ सदरमुकाम चामेमा रहेका मनाङ्गेले भने, “सबैको समर्थनअनुसार मैले स्वतन्त्र उम्मेदवारी दिएको थिएँ । बाहिर हल्ला भएजस्तो मनाङको अवस्था होइन, हामी सबै मिलेर अगाडि बढ्ने हो । हामी दुई जना उठ्दा हार्ने देखियो र मिल्यौं ।” योसँगै मनाङको प्रदेश क्षेत्र नं २ बाट कांग्रेस उम्मेदवार कर्मा गुरुङ र मनाङ्गेबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यसैगरी प्रदेशको क्षेत्र नं १ मा एमालेबाट दोर्जे डण्डुल गुरुङ र कांग्रेसबाट चिन्ताबहादुर घले उम्मेदवार बनेका छन् ।प्रतिनिधिसभाका लागि कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पाल्देन गुरुङको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया