बागलुङ – आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसका तीन जना पूर्वसांसद चुनावी प्रतिस्पर्धामा छन् ।
वाम गठबन्धनविरुद्ध काँग्रेस उम्मेदवार एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लिएका छन् । काँग्रेसले बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं पूर्वसांसद चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको छ ।
उनी २०७१ सालको संविधानसभा उपचुनावमा बागलुङ क्षेत्र नं १ बाट विजयी भएका थिए । यस्तै, २०६४ सालको संविधानसभा चुनावमा क्षेत्र नं ३ बाट निर्वाचित नीरज पुन अहिले क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । ०७० सालको संविधानसभा चुनावमा क्षेत्र नं २ बाट सांसद बनेका प्रकाश शर्मा पौडेल अहिले क्षेत्र नं १ को प्रदेशसभा (क) बाट चुनावी मैदानमा छन् । वाम गठबन्धनसँग तीव्र प्रतिस्पर्धा हुने देखेर काँग्रेसले पुनः पुरानै अनुहारलाई चुनावी मैदानमा उतारेको विश्लेषण गरिएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले जनताको बीचमा स्थापित नेतालाई पार्टीले उम्मेदवार बनाएको बताए । जिल्लाको विकासमा तीनै पूर्व सांसदहरुको उल्लेख्य योगदान रहेकाले जित हासिल गर्ने काँग्रेसको दाबी छ । पार्टी सभापति थापा पनि निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) बाट चुनावी प्रतिस्पर्धामा छन् । पाका, अनुभवी र नेतृत्व तहमा रहेका व्यक्तिलाई उम्मेदवार बनाइए पनि पार्टीभित्र असन्तुष्टि रहेको कतिपय नेता बताउँछन् । असन्तुष्टिका बीचमा पनि एक ढिक्का भएर चुनावमा जाने काँग्रेस र वाम गठबन्धनका दलले निर्णय गरेका छन् ।
अघिल्ला चुनावमा एकल रुपमा चुनाव लड्दै आएका मुख्य बाम दल अहिले तालमेल गरेर चुनाव भिड्दैछन् । बामपन्थीको राम्रो प्रभाव रहेको मानिएको बागलुङमा नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनविरुद्ध नेपाली काँग्रेस एक्लैले चुनाव लड्दैछ ।
प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले एक्लै उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रेको छ । एमालले एक प्रतिनिधि सभा र एक प्रदेश सभा, माओवादी केन्द्रले पनि एक प्रतिनिधिसभा र एक प्रदेशसभा तथा राष्ट्रिय जनमोर्चाले दुई प्रदेश सभामा उम्मेदवारी दिएको छ । बाम गठबन्धनले संयुक्त निर्वाचन परिचालन कमिटी बनाएर चुनावी प्रचारप्रसारमा जुटिसकेको छ । नेपाली काँग्रेस पनि चुनावी तयारीमा लागेको छ ।
२०७० सालकोे संविधानसभा निर्वाचनमा जिल्लाका तीनै क्षेत्रमा नेपाली काँग्रेस विजयी बनेको थियो । गत वैशाखमा भएको स्थानीय तहको चुनावमा भने सबै दलले मिश्रित परिणाम हात पारेका थिए । रासस
प्रतिक्रिया