हिमालय खबर संवाददाता-
चितवन– चितवनमा राजनीतिक दलहरु उम्मेदवार सिफारिसमै अलमल रहेका बेला माओवादी केन्द्रले भने चुनावी अभियान तीव्र बनाएको छ ।
माओवादीले जिल्ला भेला गरी निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा अमिक शेरचन रहेका छन् ।
यस्तै ‘क्षेत्र नं १ मा ईश्वरी भट्टराई, २ मा नारायण दाहाल र ३ मा सूर्य सुवेदी ‘पथिक’ को संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
प्रदेशसभाका निर्वाचन क्षेत्रमा पनि समिति बनिसकेको बताउँदै माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारले भने, ‘अब हामी वडा तहमा जान सुरू गरेका छौं ।’
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै चितवनबाट उठ्ने भएका छन् । प्रचण्डले यस पटक प्रतिनिधिसभा सदस्य अर्थात् संघीय संसदमा चितवन क्षेत्र नं ३ बाट उठ्ने घोषणा गएको भदौ २३ मै गरेका हुन् । प्रचण्डको घोषणासँगै निर्वाचनको माहोल तातेको थियो ।
स्थानीय चुनावमा कांग्रेससँग तालमेल गरेको माओवादी प्रचण्डले उम्मेदवार घोषणा गर्दासम्म पनि सो गठबन्धन तोडेको थिएन । तर, अहिले कांग्रेससँग तोडेर एमालेसँग केन्द्रीय तहमा नै गठबन्धन गरेको छ ।
एमालेसँग चुनावी तालमेलमात्रै नभएर पार्टी एकता नै गर्ने घोषणा छ । तर, चुनावी गठबन्धनकै लागि उम्मेदवार चयन गर्न सकस हुँदै गएको छ । पार्टी अध्यक्ष नै उठ्ने भएपछि उनको जित निश्चित गर्न माओवादी केन्द्रले अरुभन्दा अगाडि नै चुनावी तयारीलाई तीव्रता दिएको नेताहरुको भनाइ छ । माओवादी र एमालेका आआफ्नै तरिकाले उम्मेदवारहरु सिफारिस भएका छन् ।
क्षेत्र नं ३ मा प्रचण्ड उठ्ने भएपछि गठबन्धनमा आवद्ध एमालेले जिल्लाका अन्य कुन क्षेत्र लिने निधो भएको छैन । यद्यपि एमालेले तीनवटै क्षेत्रमा उम्मेदवारहरुको सिफारिस गरेको छ । क्षेत्र नं २ मा एमालेले पार्टीका जिल्ला अध्यक्ष तथा ७० सालमा विजयी सभासद् कृष्णभक्त पोखरेललाई नै उठाउने भएको छ । तर, सो क्षेत्रबाट माओवादी केन्द्रका अर्का प्रभावशाली नेता बादल नै उठ्ने चर्चा छ ।
उम्मेदवारका बारेमा पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बोल्ने जिल्ला नेता यमबहादुर परियारले जानकारी दिए । क्षेत्र नं २ मा बादल उठ्ने चर्चासँगै एमाले कार्यकर्ता तहमा असन्तोषका अवाजहरु प्रकट हुन थालेका छन् । यी यस्ता विषयहरुलाई पनि सम्बोधन गर्दै अगाडि बढ्न माओवादी चाँडै नै सक्रिय भएको हो ।
माओवादीले कात्तिक ७ गते आमसभा नै आयोजना गरेको पार्टीका जिल्ला नेता यमबहादुर परियारले जानकारी दिए । सो सभालाई सम्बोधन गर्न माओवादीका केन्द्रीय अध्यक्ष प्रचण्ड, रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ आउने परियारको भनाइ छ । आमसभालाई भब्य बनाउन गाउँगाउँमा कार्यकर्ताहरु परिचालित भएको उनले बताए ।
विस २०६४ र ७० सालमा संविधानसभा सदस्य निर्वाचन हुँदा चितवनमा पाँच क्षेत्र थिए । अहिले तीन क्षेत्र कायम भएको छ । ६४ सालमा पाँच क्षेत्र मध्ये दुई, तीन, चारमा तत्कालीन माओवादीका उम्मेद्वारहरु विजयी भएका थिए । क्षेत्र नं। १ मा एमाले विजयी भएको थियो भने क्षेत्र नं ५ मा माओवादीको समर्थनमा तत्कालीन जनमोर्चा नेपालका उम्मेदवार अमिक शेरचन विजयी भएका थिए ।
विस २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा चितवनका सबै क्षेत्रमा माओवादी पराजित भएको थियो । त्यस्तै यसै वर्ष भएको स्थानीय तह निर्वाचनमा चितवनमा माओवादीको अवस्था राम्रो थिएन । यसअघि रोल्पा, काठमाडौं र सिराहाबाट चुनाव लड्दै आएको प्रचण्ड अहिले हुर्के बढेको र पढेको आफ्नो पुरानो कर्म थलो चितवनलाई रोजेका छन् ।
संगठन अवस्था मजबुद नभएका कारण प्रचण्डको जित निश्चित गर्न कार्यकर्ताहरुले बढ्दा कसरत गर्नुपर्ने अवस्था देखिन्छ । त्यसैले अन्य दलहरुले चुनावी गतिविधि नथाल्दै माओवादी चुनावी मैदानमा उत्रिएको हो ।
प्रतिक्रिया