नेपाल

गुरूकुलबाटै हराए दुई बालक

गुरूकुलबाटै हराए दुई बालक


कपिलवस्तु– कपिलवस्तुको एक गुरूकुल विद्यालयबाट दुई बालक बेपत्ता भएका छन् । यहाँको बाणगंगा नगरपालिका–२ मा रहेको मनकामना संस्कृत गुरूकुलमा अध्ययन गर्दै आएका दुईजना बालक यही सोमबारदेखि बेपत्ता भएका हुन् ।
 
जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा निवासी नीता भट्टराईका १० वर्षीय छोरा सागर भट्टराई र धनगढी घर भएका १२ वर्षीय अर्जुन सुवेदी बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।
 
दश दिनअघि मात्र विद्यालयमा अध्ययन गर्न आएका धनगढीका अर्जुनसँग आफ्नो छोरा पनि बेपत्ता भएपछि सागरकी आमा चिन्तित भएकी छन् । विद्यालयबाट बालक बेपत्ता हुँदासमेत विद्यालय परिवार बेखबर बनेको पारिवारिक स्रोतले गुनासो गरेको छ । 
 
गुरूकुलबाटै विद्यार्थी बेपत्ता भएपछि परिवारका सदस्य आक्रोशित भएका छन् । गत वैशाखदेखि विद्यापीठमा अध्ययनरत सागर लगनशील र मेहनती विद्यार्थी थिए ।
 
परिवारले बालक खोजी दिनका लागि इलाका प्रहरी कार्यालय, पिपरामा निवेदन दिएको र खोजीकार्य भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
 

शेयर गर्नुहोस:

0
Shares