मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

७५ वर्षदेखि अन्न नखाइ जीवित जीवनाथ

७५ वर्षदेखि अन्न नखाइ जीवित जीवनाथ


मोरङ – अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाईं सहजै भन्नुहुन्छ, नचाहिने कुरा, कहीँ त्यस्तो पनि हुन्छ र ? 
 
तर मोरङ जिल्लाको सुन्दर हरैँचा–७ निवासी ८२ वर्षीय जीवनाथ भट्टराईको सवालमा भने यही कुरा सत्य हो । उनी सात वर्षको उमेरदेखि अन्न नखाइ बाँचेका छन् । 
 
उनले सात वर्षको उमेरदेखि ६५ वर्षको उमेरसम्म कन्दमुल (सक्खरखण्ड, तरुल, आलु आदि) मात्र खाए । त्यसपछि कन्दमुल पनि छाडेर स्याउमात्र खान थाले । उनले सातबर्षको उमेरदेखि नै नुन तेल पनि नखाएको उनका छोरा शिव भट्टराईले जानकारी दिए । उनले सातवर्षकै उमेरदेखि आफ्नै ज्ञानले व्रतको रुपमा नै अन्न र नुन छोडेको उनी बताउँछन् । 
 
विगत ६६ वर्षदेखि हालसम्म प्रत्येक दिन बिहान माता भगवतीको पूजाआजा पछि उसिनेको दुईवटा स्याउ खान्छन् र मध्यान्ह १२ देखि १ बजेको समयमा कैलो रङको गाईको मात्रै एक गिलास दूध पिउँछन् । त्यसपछि फेरि बेलुका पूजाआजा पछि उसिनेको स्याउ खान्छन् । उनको प्रत्येक दिन नियमितरुपमा स्याउ र एक गिलास दूध पिएरै चल्ने गरेको छ । 
 
छिमेकी पुष्पराज आचार्यका अनुसार उमेरले ८२ पुगे पनि जीवनाथ खेती गर्ने बेलामा खेतमा आली लगाउने, बीउ काड्नेजस्ता कामसमेत गर्दै आएका छन् । 
 
उनी भन्छन्, घर र खेतबारीको सबै काम गर्दै आएको छु मलाई खासै समस्या भएको छैन । उनको १० कट्ठा खेत छ । उनले मौसमअनुसार धान, मकै, तोरीलगायतका बाली लगाउने गर्छन् । उनले आफ्नै घरमा एउटा भगवतीको मान्दिर स्थापना गरेका छन् । उनले विगत केही वर्षदेखि अखण्ड दीप बाल्दै आएका छन् । 
 
सो मन्दिरमा नौरथा, मंसिरे पूर्णिमा, वैशाखे पूर्णिमा, जनैपूर्णिमामा मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने गरेको छिमेकी लवराज आचार्यले बताए । भुल्के, भोजपुरमा जन्मिएका उनी भट्टराई कुलविकास प्रतिष्ठान, गोठगाउँको संस्थापक अध्यक्ष पनि हुन् । 
 
उनका तीन छोरा र एक छोरी छन् । उनी अरु तन्नेरीभन्दा कम छैनन् । युवाले जस्तै खेतबारीको काम गर्छन् भने शारीरिक रुपमा समेत निक्कै तन्दुरुस्त देखिन्छन् । रासस