मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका एमाले कार्यकर्ता भन्छन्, ‘तिक्तता हटाउन प्रचण्डले माफी माग्नुपर्छ’

चितवनका एमाले कार्यकर्ता भन्छन्, ‘तिक्तता हटाउन प्रचण्डले माफी माग्नुपर्छ’


हिमालयखबर संवाददाता-
चितवन– एमालेसँग एकता प्रक्रियामा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन निर्वाचन क्षेत्र नं ३ बाट उठने चर्चा चलिरहेका बेला एमालेका कार्यकर्ताहरु भने प्रचण्डले माफी माग्नुपर्ने बताएका छन् ।
 
एमाले कार्यकर्ताहरुले स्थानीय निर्वाचनमा भरतपुर महानगरका मेयरका उम्मेदवार देवी ज्ञवालीलाई हराउन र आफ्नी छोरी रेणु दाहाललाई जसरी पनि जिताउन राज्य संयन्त्रको दुरुपयोग गरेको, मत च्यात्नेहरुलाई सम्मान गरेको, षडयन्त्र र धाँधलीपूर्ण तरिकाले विपक्षीहरुको उक्साहटमा माओवादी कार्यकर्ताहरु एमालेविरुद्ध अनुचित ढंगले लागेको आरोप लगाएका छन् । 
 
स्थानीय चुनावकै प्रकरणलाई लिएर एमालेका कार्यकर्ताहरु प्रचण्डसँग रुष्ट रहेकाले प्रचण्डले माफी माग्नुपर्ने एमाले भरतपुर–१८ का अध्यक्ष कृष्णभक्त भट्टराईले बताए ।
 
एमाले भरतपुर १९ का दलित नेता गुञ्जमान वि।क स्थानीय निर्वाचनको सन्र्दभलाई लिएर एमाले भरतपुरका कार्यकर्ताहरुमा अझै पनि इगो रहिरहेकोले यसलाई हटाउन प्रचण्डले माफस् माग्नुपर्ने बताउँछन् । 
 
उनी भन्छन, ‘वाम एकता प्रयासले उत्साहित भएका छौँ । तर आपसी असमझदारी हटाउन प्रचण्डले पहल गर्नुपर्छ ।’ 
 
एमालेका क्षेत्र नं ३ क्षेत्रीय सदस्य तुल्सीराम पाण्डे भन्छन्, ‘चितवन क्षेत्र नं ३ मा प्रचण्डलाई जिताउने हो भने क्षेत्र नं १ र २ एमालेलाई दिइनुपर्छ ।’ कृष्णभक्त पोखरेललाई टिकट नदिएर एमालेलाई एउटा क्षेत्रमा मात्रै सीमित राखियो भने एमाले कार्यकर्ताहरु प्रचण्डलाई हराउन बाध्य हुने उनले बताए । 
 
भरतपुर १८ का एमाले महानगर कमिटी सदस्य टुकमान गुरुङले वामपन्थी एकताको प्रयास र केन्द्रको निर्देशन सबै कार्यकर्ताले पालन गर्नुपर्ने बताए । प्रचण्डलाई असहयोग गर्दा वामपन्थी एकताको प्रयास टुटन सक्ने खतरा रहेको औँल्याउँदै स्थानीय निर्वाचनमा महानगरको मेयरमा हराउन राज्य संयन्त्रको दुरूपयोग गरेको सन्दर्भमा माओवादी नेतृत्व आत्मआलोचित भएर आउन उनले सुझाव दिए । 
 
भरतपुर–१७ का एमाले नेता रेशम श्रेष्ठले स्थानीय निर्वाचनका क्रममा माओवादीको षडयन्त्र र बेइमानीको आलो घाउ एमाले कार्यकर्तामा अझै पनि रहिरहेकाले सबै तिक्ततालाई बिर्सेर बृहत वाम एकताका लागि केन्द्रको निर्देशन मान्दै प्रचण्डलाई जिताउनु पर्ने उनको भनाइ छ । ‘तर माओवादीले गल्ती स्वीकार गरेर जनतासँग माफी मागेर अघि बढ्न जरूरी छ’, श्रेष्ठले भने ।