चितवन – मंसिर महिनामा हुने प्रतिनिधासभा र प्रदेशसभाका लागि चितवनबाट राजनीतिक दलहरुले धमाधम उम्मेदवारको नाम सिफारिस गरेका छन् । नेकपा एमालेको बिहीबार बसेको बैठकले माओवादीसँग गर्ने भनिएको चुनावी तालमेल र एकीकरण प्रयासको स्वागत गरेको छ ।
नेपाली काँग्रेस, नेकपा एमालेले नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले भने केन्द्रमा केही दिनमा बस्ने पोलिटव्यूरो बैठकपछि मात्र नाम सार्वजनिक गर्ने जनाएको छ ।
‘हाइ प्रोफाइल’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको ३ नम्बर क्षेत्रबाट उठ्ने चर्चा र एमालेसँगको राष्ट्रिय समीकरणले चितवनको चुनावी सरगर्मी निकै तातेको छ ।
एमालेबाट को को ?
एमाले चितवनको बिहीबार बसेको जिल्ला कमिटीको बैठकले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । आगामी प्रदेशसभाको निर्वाचनका लागि चितवनमा ६ वटा क्षेत्र र प्रतिनिधिसभाका लागि भने ३ वटा क्षेत्र निर्धारण गरिएको छ ।
जसअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ बाट पूर्व अर्थमन्त्री एवम् एमालेका नेता सुरेन्द्र पाण्डे सर्वसम्मत रुपमा सिफारिस भएका छन् । यसै क्षेत्रअन्तर्गत प्रदेशसभा क्षेत्र (क) बाट दावा दोर्जे लामा र डा. कृष्ण पन्तको नाम सिफारिस भएको छ । प्र्रदेशसभा क्षेत्र (ख) बाट भने पार्टीका वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल सर्वसम्मत सिफारिस भएका छन् ।
हालै सम्पन्न स्थानीय निकायको चुनावमा आफ्नो क्षेत्रका स्थानीय तहहरुमा प्रमुख र उपप्रमुख पदहरुमा सबै उम्मेदवार विजयी गराउन नेता पाण्डे र खनाल खटिएका थिए । क्षेत्र १ लाई एमालेको बलियो क्षेत्रको रुपमा लिइन्छ । दोस्रो संविधानसभा निर्वाचनमा पनि यसै क्षेत्रबाट नेता पाण्डे विजयी भएका थिए ।
त्यस्तै प्रतिनिधिसभा २ नम्बरबाट पार्टी अध्यक्ष एवम् सांसद कृष्णभक्त पोखरेलको नाम सर्वसम्मत भएको छ । यस क्षेत्रको प्रदेश सभा (क)बाट पार्टीका पूर्व सचिवसमेत रहेका विजय सुवेदी र (ख) बाट हालका पार्टी उपाध्यक्ष तेजेन्द्र खड्का सर्वसम्मत सिफारिसमा परेका छन् । प्रदेश २ मा यसअघिको संविधानसभा क्षेत्र नं ३ को अधिकांश भाग पर्दछ । जहाँबाट अध्यक्ष पोखरेल भारी मतका साथ विजयी भएका थिए ।
प्रतिनिधिसभा ३ नं क्षेत्रबाट भने सर्वसम्मत हुन नसकेको पार्टीका प्रचार विभाग प्रमुख खोमकान्त रेग्मीले बताए । यस क्षेत्रमा युवा नेता घनश्याम भट्टराई, शंकर थपलिया, सूर्यप्रसाद जमरकट्टेल, रविकिरण पौडेल र विना तिमिल्सिनाको नाम सिफारिस भएको छ ।
यस क्षेत्रको प्रदेश चुनाव (क) बाट भने जिल्ला नेता कृष्ण भूर्तेलको नाम सर्वसम्मत भएको प्रचार विभाग प्रमुख रेग्मीले बताए । (ख)बाट रामप्रसाद न्यौपाने, श्रीमान थिङ, श्याम विष्ट, लीलाधर आचार्य, प्रकाश ढुंगाना, सुदीप रेग्मी, विजय घले, प्रेमराज तिमिल्सिना, शान्तराज आचार्य र कल्पना सापकोटाको नाम सिफारिस भएको छ । त्यस्तै पार्टीले केशवलाल श्रेष्ठ, जेएन थपलियालगायतका नेताहरुको नाम भने समानुपातिकतर्फ सिफारिस गरेको छ ।
काँग्रेसबाट को को ?
प्रदेश र संघको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी २७७ जनाको नाम काँग्रेस चितवनले केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
नगर र क्षेत्रबाट आएका सिफारिसलाई आफ्नो रायसहित काँग्रेसले केन्द्रमा सिफारिस गरेको काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । उनी प्रतिनिधिसभा २ को प्रदेशसभा (क) बाट सिफारिसमा परेका छन् । काँग्रेस केन्द्रीय समितिले भने जिल्लाबाट ५४ जनाको नाममात्रै सिफारिस गर्न निर्देशन दिएको थियो ।
प्रतिनिधिसभा क्षेत्र २ मा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी प्रत्यक्षतर्फ सिफारिसमा परेका छन् । अधिकारीसँगै काँग्रेसले अन्य ७ जनाको प्रत्यक्षतर्फ र १० जनाको समानुपातिकतर्फ उम्मेदवारका लागि सिफारिस गरेको छ । यो क्षेत्रवाट प्रदेशसभाका लागि १७ जना प्रत्यक्ष र ५० जना समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस भएको हो ।
क्षेत्र नं ३ मा हालका सांसद रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ र उमेश श्रेष्ठ यो क्षेत्रमा टिकटका लागि सिफारिसमा परेका छन् । सँगै अन्य २१ जनाको नाम पनि यो क्षेत्रबाट सिफारिसमा परेको छ ।
यो क्षेत्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्ञ चुनाव लड्ने घोषणाले पनि काँग्रेसका लागि अलि बढी पेचिलो बनेको छ ।
यो क्षेत्रको प्रदेशतर्फ भने (क) मा १३ जना प्रत्यक्षमा र ३५ जना समानुपातिकमा, (ख) बाट प्रत्यक्षमा ७ जना र समानुपातिकमा २८ जनाको नाम सिफारिसमा परेको छ ।
एमालेको पकट क्षेत्रका रुपमा रहेको चितवन क्षेत्र नं १ मा काँग्रेसले ५ जना प्रत्यक्ष र ८ जना समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ । यो क्षेत्रको प्रदेशसभातर्फ (क) बाट प्रत्यक्षमा ७ जना, समानुपातिकमा ११ जना, (ख)बाट ३१ जना प्रत्यक्ष र २८ जनाको नाम समानुपातिकमा काँग्रेसले सिफारिस गरेको छ ।
प्रतिक्रिया