मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

३३ दलीय मोर्चा पनि वाम एकतामा

३३ दलीय मोर्चा पनि वाम एकतामा


काठमाडौँ – साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न हँसिया हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् । 
 
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णय गरेपछि मोर्चाका तर्फबाट बिहीबार सो निर्णय आएको हो । 
 
मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिका रुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । 
 
उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गरेका छन् । 
 
यस्तै संसदमा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् । 
 
प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसदमा एक–एक सदस्य छन् । 
 
उता नेकपा (संयुक्त)ले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिए । संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मक रुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।