मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दोस्रो संविधान दिवस चितवनमा भव्य रुपमा मनाइयो

दोस्रो संविधान दिवस चितवनमा भव्य रुपमा मनाइयो


–हिमालय खबर संवाददाता
भरतपुर (चितवन) – दोस्रो संविधान दिवसको अवसरमा चितवनमा विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला समारोह समिति चितवनले विशेष कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । 
 
कार्यक्रमका प्रमुख अतिथि वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले संविधानबमोजिम हक–अधिकार र कर्तव्य अक्षरशः पालना गर्नुपर्ने बताएका छन् ।
 
आफू संविधान लागू गर्ने सिपाही रहेकोले भाषण र  आन्दोलन छाडेर संविधानप्रदत्त जनताका हकअधिकार र कर्तव्य कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिए । संविधानलाई कार्यान्वयन गर्न सकेमात्र संविधान दिवस मनाउनुको थप सान्दर्भिकता झल्कने उनको भनाइ थियो । 
 
व्यवस्थापिका सांसद कृष्णभक्त पोखरेलले सबै वर्ग र क्षेत्रको सहभागितामा निर्माण भएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको भन्दै संविधानले व्यवस्था गरेका प्रावधानहरूलाई कार्यान्वयनमा ल्याएर परिवर्तनको प्रत्याभूति गरिनुपर्नेमा जोड दिए । 
 
संविधान कार्यान्वयनको चरणमा रहेकोले केही प्रावधान समावेश हुन बाँकी रहेको र संशोधनका माध्यमबाट व्यवस्था गर्दै न्यायपूर्ण कानुनहरू निर्माण गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे । 
 
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल वर्तमान संविधान भएको भन्दै कार्यान्वयनको दिशामा लैजानु सबैको उत्तिकै दायित्व भएको बताइन् । मेयर दाहालले थपिन्– ‘स्थानीय निकायको निर्वाचन भर्खरै पूर्णरुपमा सम्पन्न भएको छ । छिट्टै नै प्रदेशसभा र केन्द्रको निर्वाचनको हुँदैछ, यो पनि संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण पाटो हो ।’ 
 
संविधान दिवस मूल समारोह समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी कृष्ण सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका सचिव उत्तम जोशी, नेकपा एमाले चितवनका देवी ज्ञवाली, नेकपा माओवादी केन्द्रकी संगीता भट्टराई, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष गोपीलाल देवकोटालगायतले मन्तव्य राखेका थिए ।
 
संविधान दिवसकै अवसरमा भरतपुरको चौबीसकोठीबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा स्थानीय जनप्रतिनिधिहरु तथा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, सुरक्षा निकाय, नागरिक समाजलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।