मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित

पोखरा–बागलुङ राजमार्ग दुर्गन्धित


पर्वत । सदरमुकाम कुश्माबजारमा झण्डै ४० हप्ताभन्दा बढी सरसफाइ अभियान गरिएपनि बजारबाट उठाइएको फोहर व्यवस्थापन गर्ने ठाउँ नहुँदा पोखरा–बागलुङ सडक भने दुर्गन्धित बन्न थालेको छ । 
 
कुश्मा नगरपालिकाको कुश्माबजारबाट दैनिक निस्किने फोहरले पोखरा–बाग्लुङ राजमार्गमा दुर्गन्ध फैलिएको हो । नगरपालिकाले फोहर व्यवस्थापनको उचित विकल्प नखोज्दा एकातिर राजमार्ग भत्किने खतरा बढेको छ भने अर्कोतिर फोहर सीधै कालीगण्डकीमा खस्दा नदीमा प्रदूषण बढेको छ । सदरमुकाम कुश्मास्थित जिरो किमीदेखि करिब एक किमीको दूरीमा रहेको छमर्केमा एक दशकदेखि निरन्तर सदरमुकामको फोहर फालिदै आएको छ । 
 
सदरमुकाम कुश्मामा मात्रै दैनिक १० टन फोहर संकलन हुन्छ । सदरमुकामको सबै फोहर राजमार्गमा फालिंँदा दुर्गन्धले स्थानीय, सवारी चालक र तिनमा यात्रारत यात्रीहरु बढी समस्यामा पर्ने गरेका छन् । “फोहरले यहाँ बसिसाध्य छैन”, स्थानीय राधेश्याम आचार्यले भन्नुभयो, “यहाँ फोहर नफाल्न हामीले सम्बन्धित निकायलाई धेरै आग्रह ग¥यौँ, कतैबाट सुनुवाइ भएन ।”
 
सदरमुकामको फोहर व्यवस्थापनको जिम्मा स्थानीय ‘सफा कुश्माका लागि सामूहिक अभियान’ संस्थाले लिँदै आइरहेको थियो । फोहर व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले उक्त संस्थालाई एक ट्र्याक्टर र एक कन्टेनरसमेत दिएको छ । जिम्मा पाएका कर्मचारीहरुले संस्थाले भने बमोजिम आफूहरुले राजमार्गमा फोहर विसर्जन गरेको जनाएका छन् । “हामीलाई जहाँ भन्यो त्यही फाल्ने हो”, फोहर व्यवस्थापनका कर्मचारी कुमार नेपालीले भन्नुभयो, “हामी त कर्मचारी हो, जे भन्छन्, त्यही काम गर्नैप¥यो ।”
 
“बसभित्रै नाक थुन्नुपर्छ, यात्रु गोपाल पराजुलीले भन्नुभयो, पैदल हिँड्दा त नाक थुनेर पनि वारपार गर्न कठिन हुन्छ ।” गर्मीयाम बढेसँगै आसपासका बस्तीमा चौबीसै घण्टा दुर्गन्धले बस्नै नसकिने स्थानीयवासीले बताएका छन् । दैनिकको फोहरले कुश्मा–बागलुङखण्डको छमर्के क्षेत्रको भाग पहिरोको जोखिममा छ । 
 
फोहर फाल्ने ठाउँ नहुँदा निर्माणका लागि वर्षेनी कुश्मा नगरपालिकाबाट बजेट विनियोजन गरे पनि अझै ठाउँ तयार हुन सकेको छैन । नगरपालिका अहिले पनि व्यवस्थित स्थानको खोजीमा रहेको र अब छिट्टै उपयुक्त स्थानमा कुश्माबजारको फोहर व्यवस्थापन गरिने नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । उनले चालू आवमै फोहर फाल्ने ठाउँ निर्माणका लागि काम शुरु गरिने बताए । 
 
राजमार्गमा फालिने फोहर सिधै कालीगण्डकी किनारमा जान्छ । यसले नदी दुर्गन्धित भएको भन्दै केही सरोकारवालाले फोहर विसर्जनप्रति आपत्ति जनाएका छन् ।
 
“कालीगण्डकीलाई पवित्र नदी र विशेषगरी विदेशीले फेमिली रिभरका रुपमा लिने गर्छन्”, पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले भन्नुभयो, “त्यही नदीमा फोहर विसर्जन गर्दा एकातिर पर्यटकको आकर्षण घट्छ, अर्कातिर पवित्र मानिएको कालीगण्डकी प्रदूशित बनेको छ ।”
 
सदरमुकामका बासिन्दामा चेनताको अभावका कारण पनि सदरमुकामको फोहर व्यवस्थापनमा बेथिति बढेको स्थानीयवासीको भनाइ छ । रासस