मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थरुहट आन्दोलनका घाइतेको नौ वर्षपछि उपचार

थरुहट आन्दोलनका घाइतेको नौ वर्षपछि उपचार


चितवन । २०६५ सालमा तराई भेगमा भएको आन्दोलनअन्तर्गत चितवनमा पनि थरुहट आन्दोलन उत्कर्षमा पुग्यो । सोही  आन्दोलनमा सहभागी रत्ननगर–७ का २९ वर्षीय सन्जित महतो भन्छन्– ‘आन्दोलनमा सँगै रहेका दुई साथीको गोली लागेर मृत्यु भयो, म भाग्यले बाँचे’, भने । 
 
उक्त आन्दोलनमा विपिन खड्का कमल चौधरीको प्रहरीको गोली लागि मत्यु भयो । एक मधेस एक प्रदेशको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मी चलाएको गोली लागेर घाइते भएका सन्जित महतो ९ वर्षपछि बल्ल उपचारका लागि अस्पताल भर्ना भएका छन् । त्यस समयमा भएको थारु जातिको आन्दोलनमा २० वर्षको उमेरमा नै उनी अधिकारका लागि भन्दै आन्दोलनको अग्र पंक्तिमा थिए । फागुन २२ गते भएको घटनामा सुरक्षाकर्मीको गोली दाहिने तिघ्रामा लागेपछि उनी ढले । 
 
गोली लाग्नेबित्तिकै भरतपुर अस्पताल, त्यसपछि मेडिकल कलेज र थप उपचारका लागि उनी बी एण्ड बी अस्पताल राजधानी गए । तिघ्रामा गोली लागेर खुट्टा काम नलाग्ने बताएपछि चिकित्सकले उनलाई खुट्टा काट्न भने, तर उनले मानेनन् ।
 
काठमाडौंमा उपचार गराउँदै गर्दा रकम अभावले उनी घरमै बसे । ‘सरकारले हालसम्म ३२ हजार रूपैयाँ दिएको छ, अलाइभ हस्पिटलमा उपचाररत रहेका महतोले भने, ‘यहाँ आएपछि पुन जीवन राम्रो हुन्छ की भनी आश लिएको छु ।’ एक लाख ५० हजार जति खर्च भएपछि उपचार सम्भव नभएकाले घर फर्किएको उनले बताए । तर, हाल ९ वर्षपछि उनी पुनः उपचारमा जुटेका छन् । 
 
तिघ्राको हड्डी नजोडिएको, घाउ उस्तै रहेको, खुट्टा छोटो हुनाका साथै खुम्चिएको अवस्थामा छ, महतोको उपचारमा संलग्न डाक्टर प्रमोद लामिछानेले भने, ‘तत्काल निको नभए पनि भविष्यमा बैशाखीको साहारा बिना पनि हिड्डुल गर्न सक्ने गरी हामी उपचारमा जुटिरहेका छौं ।’ हाल घाउबाट पीप आइरहेका भन्दै डा लामिछानेले घाउ निको हुनाका साथै खुट्टामा देखिएको समस्या पनि ठीक हुने बताए । 
 
घाइतको उपचारका लागि अस्पतालले कुनै पनि शुल्क नलिएको अस्पतालकी प्रमुख डा बीएम खरेलले बताइन् । ‘अधिकार प्राप्तिका लागि लड्दै गर्दा उनलाई खुट्टामा चोट पुगेको रहेछ, पैसा अभावमा उपचार नपाएर बसेका उनलाई हामीले औषधिसमेत निःशुल्क दिएर उपचार गराइरहेका छौं,’ डा खरेलले भनिन् । 
 
स्थानीय शरद चौधरी र पत्रकार सन्तकुमार चौधरीले उनको उपचारमा विशेष सहयोग गरिरहेका छन् । उनको परिवारमा बुबा आमा, भाइ, श्रीमती र ११ वर्षको छोरा रहेका छन् । 
 
‘सन्जितको उपचारमा सहयोग गर्ने अलाइभ हस्पिटल प्रति आभार व्यक्त गर्न चाहान्छ’, पत्रकार महासंघ चितवनका सहसचिवसमेत रहेका थारु समुदायका पत्रकार सन्तकुमार चौधरीले भने, ‘अधिकार प्राप्तिका लागि सन्जित जस्तो धेरै युवाको योगदान रहे पनि राज्य र आन्दोलन गर्न आब्हान गर्ने निकायले बिर्सने गरेको देख्दा दुःख लाग्छ ।’