चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आफ्नो प्रातिद्वन्द्वी देवी ज्ञवालीले प्राप्त गरेको मतको पनि कदर हुने गरी काम गर्ने बताएकी छन् ।
महानगरपालिकाका कर्मचारीहरूसँगको परिचयात्मक कार्यक्रममा मेयर दाहालले प्रतिस्पर्धामा हारजित स्वभाविक भएको भन्दै प्रतिद्वन्द्वीले पाएको मतको पनि पूर्णरूपमा कदर हुने गरी विकासको काम गरेर देखाउने प्रतिबद्धता जनाएकी हुन् ।
‘मेरा प्रतिद्वन्द्वी देवीजीले पाउनुभएको मत पनि थोरै होइन । त्यसैले उहाँले पाउनुभएको मतको पनि पूर्ण कदर हुने गरी काम गर्नेछु,’ उनले भनिन्, ‘उहाँले पनि जनताको मन जित्नुभएको छ । किनकि जनताले मलाई जत्तिकै विश्वास गरेर देवीजीलाई पनि अमूल्य मत दिनुभएको छ ।’
दुई दशकपछिको स्थानीय तह निर्वाचनमा आज जनताले जिताएको भन्दै अबको पाँच वर्षसम्ममा पूर्णरूपमा जनताको मन जित्ने गरी काम गर्नुपर्ने जिम्मेवारी आएको बताइन् ।
‘तर, जनताको मन जित्ने काम गर्नको लागि हामीले मात्रै काम गरेर सम्भव छैन,’ उनले भनिन्, ‘त्यसको लागि महानगरपालिकाका सम्पूर्ण कर्मचारी साथीहरूको सहयोग पनि उत्तिकै चाहिन्छ ।’ त्यसैले जनताको चाहनाअनुसार छिटो छरितो तरिकाले दृढतापूर्वक काम गर्न कर्मचारीहरूलाई निर्देशन दिइन् ।
यसअघिका सरकारी कार्यालयहरूमा जनताले काम ढिलो भयो भनेर गुनासो गरिरहेकाले अबका दिनमा जनताको सेवालाई ढिलो नगरिदिन पनि उनले कर्मचारीहरूलाई आग्रह गरिन् । ‘हामीले जनताको सेवामुखी काम गर्ने हो,’ उनले भनिन्, ‘त्यसैले सकभर छिटो छरितो ढं्गले जनताको काम गर्ने हो । जनताको काममा ढिलासुस्ती गर्ने कसैलाई पनि छुट छैन ।’
साथै भरतपुर भौगोलिक, आर्थिक, शैक्षिकलगायतका हिसाबले पनि सम्पन्न ठाउँ भएकोले यसलाई गति दिनका लागि आफूहरू तयार रहेको उनले बताइन् । ‘हामीले भरतपुरलाई देशकै दोस्रो राजधानीको रूपमा विकास गर्ने योजनासहित काम गर्ने सोच बनाएका छौँ,’ उनले भनिन्, जबकि भरतपुर महानगरपालिका हरेक दृष्टिकोणले देशकै केन्द्र बनोस् ।’
उपमेयर पार्वती शाहले पनि सम्पूर्ण महानगरवासी र कार्यालयका कर्मचारीहरू मिलेर महानगरलाई तीव्र गतिमा विकास गर्नतर्फ लाग्नुपर्ने बेला आएको बताइन् । ‘तर, तपाईँहरूको साथ र सहयोगबिना हाम्रो प्रतिबद्धता पूरा हुन सक्दैन,’ कर्मचारीप्रति इङ्गित गर्दै उनले भनिन्, ‘तपाईँहरूको साथ र सहयोगले मात्रै हाम्रो कार्यकाल सोचेजस्तो हुनेछ ।’
प्रतिक्रिया