मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जमिन फाटेपछि गाउँबासीको जंगलमा बास

जमिन फाटेपछि गाउँबासीको जंगलमा बास


मलेखु (धादिङ) । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिराको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् । 
 
केही दिनदेखिको वर्षाका कारण रिगाउँ मावि तलको भीर पहिरो लड्नै लागेको छ । जमिन फाटेर एक मि ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेको गंगाजमुना–२ का वडाध्यक्ष फैसिंह तामाङले बताए । 
 
प्रुन्दुङ गाउँमा तामाङहरुका १२ घर छन् । गाउँबासी सबैले सोमबारदेखि नै घर छाडेको पहिरो प्रभावित अमृत तामाङले जानकारी दिए । यससँंगैको सल्लेमा पनि सात घर छन् । पहिराको जोखिम बढेकाले उनीहरु सबैको पुनःस्थापना गर्नुपर्ने अवस्थामा रहेको गाउँबासीको भनाइ छ । 
 
सदरमुकाम धादिङबेंसीबाट एक दिनको पैदल दूरीमा रहेको प्रुन्दुङ गाउँका बालबालिका र वृद्धलाई खुला आकाशमुनि बस्नुपर्ने भएपछि समस्या परेको र भूकम्पपछि गाउँमा जोखिम बढे पनि समाधान गर्न नसकिएको वडाध्यक्ष तामाङको भनाइ छ । 
 
वर्षाका समयमा गाउँ नजिकै सवारी साधन पुग्न सक्ने अवस्था छैन । गाउँमा आपत्कालीन अवस्थामा बस्नका लागि त्रिपाल समेत नभएको र सामुदायिक आवास भवन गाउँबाट टाढा भएकाले समस्या परेको गाउँबासीको गुनासो छ । 
 
गाउँ जोखिममा परेका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङमा खबर गएकाले गाउँबासीलाई सुरक्षित गरिने जानकारी दिइएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि रि गाउँबासी पहिराको उच्च जोखिममा रहे पनि वैकल्पिक व्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा गाउँमा नै बस्दै आएका छन् । रासस