मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धार्मिक तीर्थस्थल देवघाटमा साउने मेला

धार्मिक तीर्थस्थल देवघाटमा साउने मेला


चितवन । नेपालकै पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला शुरु भएको छ । आज साउनको पहिलो दिन साउने संक्रान्तिमा स्नान गर्ने भक्तजनको यहाँ भीड लागेको छ । 
 
मुख्य गरी हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेषरूपमा मनाउँछन् । 
 
अझै साउनको सोमबार पवित्र दिनका रूपमा मानिँदै आएकाले भोलि सोमबार विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए । सोही मेलाका लागि आजैदेखि तयारी थालिएको उनको भनाइ छ ।
 
आज साउने संक्रान्ति मेला शुरु भएको र यहाँ भोलिदेखि बोलबम मेला लाग्ने पौडेलले जानकारी दिए ।
 
संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेका छन् । आज समाजसेवी तथा पूर्व सांसद मैयाँदेवी श्रेष्ठले विश्वशान्तिका लागि स्वस्ति शान्तिको समेत आयोजना गर्नुभएको छ । 
 
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने आजको दिनमा घरघरमा लुतो फाल्ने चलनसमेत छ ।
 
देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका लागि समितिका सदस्य सोमनाथ अधिकारीको संयोजकत्वमा उपसमिति बनाएर बोलबम मेलाको तयारी गरेको छ । 
 
नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगासमेत राखिएको समितिले जनाएको छ । बाटो, खानेपानी, विद्युत्लगायतको पनि व्यवस्थापन भइरहेको अध्यक्ष पौडेलले बताए । 
 
चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । 
 
यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्छन् भने पुरुष पनि व्रत बसेर पूजा गर्ने गर्छन् । व्रत बसेर स्नान गरी देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास सर्वसाधारणको छ । रासस