मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रीति भोज कटाएर तीन विद्यालयमा अक्षयकोष

प्रीति भोज कटाएर तीन विद्यालयमा अक्षयकोष


चितवन । तामझामसँग बिहे गर्ने र भब्य भोजको आयोजना गर्ने नेपाली समाजको परम्परा बनिसकेको छ । बिहे गरेर भोजभतेर नखुवाउँदा कन्जुसको आरोप लाग्छ । भोजमा बोलाउन छुटाए अनेक गुनासो खेप्नुपर्छ । भोज खुवाए पनि कमीकमजोरीको आलोचना नै सुन्नुपर्छ । 
 
यस्ता आरोप, अपजस र आलोचना चिर्दै पूर्वी चितवनको रत्ननगर-१, स्थित बकुलहरका पौडेल परिवारले भोजवापतको खर्च तीन विद्यालयमा अक्षयकोष स्थापनार्थ सहयोग गरेर उदाहरणीय कार्य गरेका छन् । 
 
युवा नेता गणेश पौडेलले असार २८ मा सम्पन्न भाइ रमेशको बिहे भोज कटौती गरी नविन कार्यको सुरुवातका लागि बुबा तिलक पौडेललाई सुझाएका थिए । अनावश्यक तडकभडकका साथ भोजभतेरमा खर्च गर्नुभन्दा त्यसवापतको रकम गरिब तथा विपन्न विद्यार्थीको शिक्षादीक्षाका लागि अक्षयकोष स्थापना गर्ने प्रस्ताव आफैँमा सकारात्मक थियो । परिवारका सबैले सहमति जनाए । 
 
शनिबार बकुलहर माविमा आयोजित अक्षयकोष स्थापनार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि रहेका थिए, नवविवाहिता रमेश पौडेल र अस्मिता चालिसे ।
 
बरबधु तथा उनीहरुका परिवारले गरेको सकारात्मक र प्रशंसनीय कार्यको उपस्थित शिक्षासेवी, समाजसेवी, राजनीतिकर्मी तथा सञ्चारकर्मी सबैका लागि उत्तिकै प्रेरणादायी थियो । यस्ता कार्यको निरन्तरताको कामना गर्दै उपस्थित सबैले बरबधुलाई बधाई दिए ।
 
कार्यक्रममा ५० हजार ५५ रुपैयाँका दरले तीन विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण गरिएको थियो । पौडेल परिवारले रत्ननगर १ को बकुलहर मावि, ओमशान्ति राप्रावि र वाग्लुङ विनामारेस्थित सर्वोदय जनक उमाविलाई सहयोग हस्तान्तरण गरेको हो । वाग्लुङ पौडेल परिवारको पुख्र्यौलीथलो हो । सर्वोदय जनक उमावि बुबा तिलक पौडेलले अध्ययन गरेको विद्यालय हो ।
 
बकुलहर माविकी प्रधानाध्यापक कमला ढकालले गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नयनका लागि भोजको रकम कटाएर पुण्य र महान् कार्यको थालनी गरेकोमा नवदम्पतीसहित पौडेल परिवारलाई धन्यवाद प्रकट गरिन् । 
 
वाग्लुङ विनामारे सम्पर्क समिति रत्ननगरका सचिव निलकण्ठ पौडेलले दिनदुःखी र विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको अवसर प्रदान गर्न पौडेल परिवारले सकारात्मक सन्देश प्रवाहित गरेको भन्दै उच्च प्रशंसा गरे । यसलाई मार्गदर्शनका रुपमा लिएर सबैले यस्ता कार्य गर्न अग्रसर हुनुपर्ने उनको धारणा थियो । 
 
समाजका लागि सकारात्मक सोच र परिवर्तन जरुरी भएकाले नविन कार्यको थालनी आफ्नै परिवारबाट गरिएको दाजु गणेशले बताए । परिवर्तनका लागि पद्धति बसोस् र बिहेलगायत हरेक उत्सव गर्दा व्यक्ति स्वयंबाटै यस्ता काम गर्नुपर्ने उनले बताए । उनी वैशाख ३१ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रत्ननगर नगरपालिकाको वडा नं १ मा वडाअध्यक्षका उम्मेदवार थिए । उनले सम्मानजनक मत ल्याएका थिए । 
 
कार्यक्रममा ओमशान्ति राप्राविका अध्यक्ष रामेश्वर महतो, समाजसेवीद्वय नेमराज पौडेल, कपिलमणि पौडेललगायतले पौडेल परिवारको अभियानबाट समाजमा केही गरौँ भन्ने भावना जागृत भएको उल्लेख गरे ।  
 
कार्यक्रमको समापन गर्दै बकुलहर माविका व्यवस्थापन समितिका अध्यक्ष कूलप्रसाद सापकोटाले सबैले केही न केही कीर्ति छाडेर जाने भएकाले समाजका लागि योगदान हुने केही कर्म गर्नुपर्ने बताउँदै पौडेल परिवारबाट सकारात्मक सन्देश सबैले सिक्नुपर्ने बताए । उनले आफ्नो छोराको बिहे भोजको रकम पनि यस्तै कर्ममा खर्च गर्ने उद्घोष गरे ।