काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुले आफ्ना नेता रामहरि जोशीको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेपाली राजनीतिमा गान्धीवादी एवं समाजवादी पुराना नेताको रुपमा चिनिएका जोशीको दम र निमोनियाका कारण बिहीबार साँझ ९१ वर्षको उमेरमा ग्रान्डी अस्पतालमा निधन भएको थियो ।
अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई सानेपास्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा राखिएको थियो । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्व जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिए ।
यसैगरी नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा रामशरण महतलगायत नेता तथा कार्यकर्ताले आफ्ना पुराना नेताको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।
विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी विसं २००७ देखि नै नेकाको राजनीतिमा सक्रिय थिए । नेकाका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निष्ठा र आदर्श जीवनपद्धतिको पदचापमा उहाँ अविछिन्न र अविचलित रुपमा लागिरहेका थिए ।
आफ्नो जीवनका केही समय उनले सर्लाही, हरिऔन, सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता माविका प्रधानाध्यापक रही शिक्षा सेवासमेत गरेका थिए । राजनीतिमा सक्रिय रहेका उनी अविवाहित थिए । वरिष्ठ नेता पौडेलले भने– ‘जोशीले जीवनभर गर्नुभएको नीति, निष्ठा र आदर्शको राजनीतिलाई भावी पुस्ताले अविछिन्नरुपमा पछ्याउनुपर्छ ।’ जोशीले लेखेको ‘अँध्यारोबाट उज्यालोतिर’ भन्ने पुस्तक चर्चित रहेको छ ।
आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा परेका उनी विसं २०४८ र २०५१ मा सर्लाही जिल्लाबाट सांसद बनेका थिए ।साथै विसं २०४८ मा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका थिए ।
घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए । स्व जोशीको शुक्रबारै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
काँग्रेसले तीन दिन पार्टीको आधा झण्डा झुकाउने
नेपाली काँग्रेसले दिवंगत नेता रामहरि जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टीका एक संस्थापक नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आइतबार एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सो बैठकले स्व जोशीले राष्ट्रियता, प्रजातन्त्र, समाजजाद एवं प्रजातान्त्रिक आन्दोलनमा अनवरतरुपमा पु¥याउँदै आएको योगदानको उच्च सम्मान गर्दै उनलाई ‘उच्च नेताको’ रुपमा सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
बैठकपछि नेका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले दिवंगत नेता जोशीले नेपालको प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा अथक योगदान पु¥याएबापत पार्टीले उच्च सम्मान गर्दै तीनदिनसम्म आधा झण्डा झुकाउनुका साथै शोकसभाहरु सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले शान्तिवादी चरित्र, सादकी जीवन र वैचारिकरुपमा पनि पार्टीलाई अघि बढाउन खेलेको भूमिकालाई पार्टीले आगामी दिनमा आत्मसात् गरेर अघि बढ्नसक्नुपर्नेमा जोड दिए । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको उपस्थिति थियो । रासस
प्रतिक्रिया