गुलरिया (बर्दिया) । बर्दियाको बढैयाताल गाउँपालिका–३ जोडीपीपल बस्ने कालु सिंह महराको १२ वर्षीय छोरा राजेश महरा र सोही ठाउँ बस्ने राम सिंह महराको १० वर्षीय छोरा पवन महराले सोही स्थानको चपलनाला तर्ने क्रममा पानीमा डुब्दा दुवैको मृत्यु भएको छ ।
उक्त घटना घटेको थाहा पाउँनासाथ मैनापोखरको इलाका प्रहरी कार्यालयको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । खोलामा पानीको वेग बढेका कारण बच्चाहरू खोला तर्नेक्रममा मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ ।
यसैबीच, धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा नदी मोहनाको त्रिवेणीघाटमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ ।
कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदीको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको मोहना नदीको त्रिवेणीघाटमा बुधबार नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नदीमा डुबेर बेपत्ता भएका बिराजको शव प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सोही नदीमा फेला पारिएको छ । मृतक बालक वीरबहादुर चौधरीका छोरा हुन् । बुधबार दिउँसो साथीहरूसँगै नुहाउन भनी उनी मोहना नदीतर्फ गएको बताइएको छ । रासस
प्रतिक्रिया