मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द

नारायणगढ–मुग्लिन सडक रात्रिकालीन समयमा बन्द


चितवन । पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आज आइतबारदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ । 
 
नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ । 
 
व्यवस्थापिका–संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमन रोकिएको सूचनामा उल्लेख छ । 
 
आयोजनाले नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारीसाधनलाई दासढुङ्गाको बासखोला पुलमा र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेदेखि रोक लगाएको छ । बिहान ४ बजे बाटो खुल्ला हुनेछ । 
 
त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आँबुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिने छ । बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिने सूचनामा जनाइएको छ । काठमाडौँबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिने भएको छ । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिने सूचनामा जनाइएको छ । 
 
विस्तारको कार्य भइरहेको उक्त सडकखण्डमा रातिको समयमा सम्भव भएका निर्माणका कार्य गर्ने जनाइएको छ । त्यसैगरी सडक विस्तारका क्रममा परेका विद्युत् पोल, खानेपानीको पाइप सार्ने र रुख काट्ने कामलाई यथाशक्य छिटो सम्पन्न गरी कामलाई सहजीकरण गर्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । रासस