मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कुन कुन ठाउँमा कसले खोल्यो खाता ?

कुन कुन ठाउँमा कसले खोल्यो खाता ?


स्थानीय तह दोस्रो चरणको निर्वाचन
 
दार्चुलामा काँग्रेसको विजयी सुरूवात
 
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरूवात गरेको छ । 
लेकमा– १ को वडाध्यक्षमा काँग्रेसका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी हुनुभएको छ । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रसिंह बोहराले २९२ मत तथा नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले २१३ मत प्राप्त गरे । सो वडामा काँगेसको पुरै प्यानल विजयी भएको छ । उक्त वडामा कुल एक हजार ८० मत खसेको थियो । 
 
लेकम गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उत्तम नाथले ३४९ मत, एमालेका परमानन्द जोशीले ३४८ तथा माओवादी केन्द्रका रामदत्त जोशीले अहिलेसम्म २४६ मत प्राप्त गरेका छन् । जिल्लाका अन्य नगरपालिका र गाउँपालिकामा पनि मतगणना सुरू भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी आनसिंह डाँगाले जानकारी दिए । 
 
काँग्रेस र एमालेले बाजुरामा खाता खोले
 
स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका एक÷एक वडाध्यक्षमा विजयी भएका छन् । 
 
बडीमालिका नगरपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिल विकले २८३ मत प्राप्त गरेका छन् । ८५७ मतदाता रहेको वडा नं १ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको नेपाली काँग्रेस बाजुराका पूर्वसचिव धनराज पण्डितले जानकारी दिए । 
 
बडीमालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरूले अग्रता लिएका छन् । त्यसैगरी, बडीमालिका नगरपालिका–२ मा नेकपा (एमाले)का उम्मेदवार डम्बरबहादुर महत २४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकाका वडाध्यक्षका उम्मेदवार गोपाल कार्की ६ मतले पराजित भए । उनले २३६ मत प्राप्त गरे । 
 
पुर्चौडी–१ मा काँग्रेस र पञ्चेश्वर–१ मा एमाले विजयी
 
पुर्चाैडी नगरपालिका– १ मा वडाध्यक्षसहित काँग्रेसको पूरै प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका गणेशबहादुर गडाल ४२९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जनकबहादुर धानुकले ३६० मत ल्याए ।
 
दलित महिला सदस्यमा राधिका ओड ४२६, महिला सदस्यमा विन्देश्वरी जोशी ३८१, खुलासदस्यमा जगतसिंह भण्डारी ४११ र हिक्मत जागरी ४२४ मत प्राप्त गरी विजयी भए । सो नगरपालिकाको अहिले वडा नं १० को मतगणना भइरहेको छ । 
 
पुर्चाैडी नगरपालिकाको प्रमुखमा काँग्रेसका दीपकबहादुर बमले ४५९, माओवादी केन्द्रका रणबहादुर कुँवरले २८३ र एमालेका कर्णबहादुर कुँवरले १०९ मत प्राप्त गरेका छन् । उपप्रमुखमा काँग्रेसकी उत्तरा नेपाल सार्की ३८१, माओवादी केन्द्रकी जानकी ऐर बमले ३६४ र एमालेकी जानकी साउदले ६८ मत प्राप्त गरिन् । 
 
पञ्चेश्वर–१ मा एमाले विजयी 
पञ्चेश्वर गाउँपालिका– १ को वडाध्यक्षमा  नेकपा (एमाले)का रणबहादुर चन्द ४९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जमनसिंह साउदले ३२५ मत प्राप्त गरे । सो वडामा एमालेको प्यानल विजयी भएको छ । पञ्चेश्वरमा अहिले वडा नं ६ को मतगणना भइरहेको छ ।   
 
पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ५४२, माओवादी केन्द्रका रमेशबहादुर चन्दले ३९८ र काँग्रेसका दिनेशबहादुर चन्दले ३१० मत प्राप्त गरे । उपाध्यक्षमा एमालेका बिना भट्टले ५२८, माओवादी केन्द्रका मञ्जु चन्दले ४५२ र कांग्रेसका विन्दु चन्दले २८४ प्राप्त गरेका छन् । 
 
पञ्चेश्वर–६ मा राप्रपा विजयी 
 
पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ । पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गरे । 
 
महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी भए । यस्तै दशरथचन्द नगरपालिकामा पनि राप्रपाले अग्रता लिएको छ । 
 
दुई वडामा माओवादी केन्द्र विजयी 
 
गढवा गाउँपालिका वडा नं ८ मा नेकपा (माओवादी केन्द्र)को समूह विजयी भएको छ । अध्यक्षमा सद्धाम सिद्दिकी १०७ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक तथा सदस्यमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भए । कुल मतदाता ४९८ रहेकामा ३४७ मत खसेको थियो । 
 
त्यस्तै राप्ती गाउँपालिका वडा नं ९ का अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मतसहित पूरै समूह विजयी भएको छ । महिला सदस्यमा कुवाँरीदेवी कार्की, दलित महिला सदस्य देउकला कामी तथा सदस्यमा अलि महम्मद मियाँ र  दधी बराल विजयी भए ।  सो वडामा कुल मतदाता ५८३ रहेकामा ४५७ मत खसेको थियो । 
 
त्यस्तै  राप्ती, गढवा, राजपुर, बङ्गलाचुली, शान्तिनगर र दङ्गीशरण गाउँपालिकामा मतगणना भइरहेको छ । त्यस्तै घोराही र तुलसीपुर उपमहानगरपालिकाको मतगणना सुरू भएको छ । दुई लाख ९१ हजार १७५ जना मतदाता रहेको दाङमा दुई लाख १८ हजार ३३९ अर्थात् ७४ दशमलव ९९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय दाङले जनाएको छ । 
 
 
माओवादी केन्द्रको प्यानलै विजयी
 
भोजपुरमा नेकपा (माओवादी केन्द्र) विजयी सुरुवात गर्नेमा पहिलो भएको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । 
 
माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले ३२२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पाँचकुमार राईलाई १२ मतले पछि पार्दै विजयी भएका हुन् । 
 
नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी रहेको छ । तीन तहमा भने केन्द्रमा मतपेटिका पुगिसकेको र मतगणनाका लागि तयारी भइरहेको र साल्पासिलिछो गाउँपालिकामा भने मतपेटिका निर्वाचन अधिकृतको कायालय पुग्न बाँकी रहेको छ । थोरै मत खसेकोले तीन दिनभित्रमा मतपरिणाम आइसक्ने सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी गराएका छन् । 
 
यसैबीच, भोजपुरको पौवादुम्मा गाउँपालिका–६ मा मतपत्रमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको पाइएपछि मतगणना स्थगित भएको छ । मतगणना गर्ने क्रममा ६ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएपछि बुधबार बेलुका १२ बजेदेखि सुरु भएको मतगणना अवरुद्ध भएको हो । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको जिल्लाका मुख्य निर्वाचन अधिकारी प्रकाश श्रेष्ठले जानकारी दिए ।