मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुग्लिनको कालिखोलामा पहिरोमा परी दुई प्रहरीको मृत्यु, दुई प्रहरी बेपत्ता

मुग्लिनको कालिखोलामा पहिरोमा परी दुई प्रहरीको मृत्यु, दुई प्रहरी बेपत्ता


नारायणगढ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालिखोलानजिक बिहीबार राति खसेको पहिरोले  प्रहरी भ्यान र ट्रक बगाउँदा २ प्रहरीको मृत्यु भएको छ । प्रहरीको भ्यानसहित २ प्रहरी बेपत्ता भएका छन् । 
 
मृत्यु हुने प्रहरीमा धादिङ खनियाँबास गाउँपालिका ४ बस्ने वर्ष २९ को ईप्रका मुग्लिङमा कार्यरत प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र बारा हरैया ६ वस्ने वर्ष ३० को ईप्रका मुग्लिङमा कार्यरत प्रज दीपककुमार मास्के रहेका छन् । 
 
बेपत्ता भएका प्रहरी जवानहरुमा गोर्खा मकैसिंह १ बस्ने वर्ष ३१ को ईप्रका मुग्लिङमा कार्यरत प्रज लीलबहादुर चेपाङ र तनहुँ रुपाकोट ३ बस्ने वर्ष २१ को ईप्रका मुग्लिङमा कार्यरत प्रज सन्दिप कार्की रहेका छन् । 
 
ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रनि योगेन्द्र हमालको कमाण्डमा खटिएकोे टोलीले घटनास्थलमा २ जना प्रहरीको शव नदीको किनारमा पुरिएको अवस्थामा फेला पारेको थियो । 
 
प्रहरीसँगको हतियार एसएलआर २ नाल, त्यसमा लाग्ने गोली १०० राउण्ड, चाईनिज हत्कडी १ थान तथा संचार साधन सेट हराएको प्रहरीले जनाएको छ । 
 
घाइते ट्रक चालक रामकुमार लामाको अवस्था सामान्य र सहचालक मकवानपुर मनहरी बस्ने वर्ष २७ को सानु ब्लोन अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
 
ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रसनि निश्चलकुमार तामाङको कमाण्डमा खटिइ गएको टोलीले अवरुद्द सडक एकतर्फी खुलाई ईलाका प्रहरी कार्यालय मुग्लिङतर्फ फर्कने क्रममा १।५ किमि अगाडि कालीखोला भन्ने स्थानमा शुक्रबार बिहान १ बजेको समयमा पहिरो झर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । 
 
बिहीबार राति १० बजेको समयमा ईच्छाकामना गाउपालिका–६ स्थित नारायणगढ मुग्लिङ सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो पन्छाएर प्रहरी टोली मुग्लिनतर्फ जाँदै थियो । ईलाका प्रहरी कार्यालय मुग्लिङको ना १ झ १३९० नंको प्रहरीसहितको भ्यान र ना ५ ख ७८२७ नंको ट्रकसमेत पहिरोले बगाएर सडकबाट तल झारेको प्रहरीको भनाइ छ । 
 
ना ५ख ७८२७ नंको ट्रकसमेत त्रिशुली नदीको किनारमा पूर्ण रुपमा क्षति भएको अवस्थामा रहेको छ । ट्रकको चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि भरतपुर ल्याइएको छ । बेपत्ता भएका प्रहरी र ना१झ १३९० नंको प्रहरी भ्यानको खोजतलास जारी रहेको बताइएको छ । 
 
नारायणगढ सडक खण्डमा पहिरो खसी सडक अवरुद्द भएको र अझ पहिरो खस्न सक्ने सम्भावना रहेकोले यात्रुलाई सो सडक खण्डको वैकल्पिक बाटो अपनाउन र सोही सडक खण्डमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा सतर्कता अपनाई मात्र यात्रा गर्न प्रहरीले अपिल गरेको छ ।